विष्णु पोखरेल /बीबीसी न्यूज नेपाली
काठमाडौं, २० असोज । प्यालेस्टिनी हमला र त्यसको प्रतिउत्तरमा इजरेलले गरिरहेको कारबाहीका क्रममा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकहरू समेत घाइते भएको खबर आएको छ।
शनिवार बिहानैदेखि इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ जारी छ। सुरुमा हमासले इजरेलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको हो।
त्यस क्रममा हालसम्म ४० जना इजरेली र १ सय ९८ जना प्यालेस्टिनीहरू मारिएको खबर आएको छ। त्यस्तै ७०० भन्दा बढी इजरेलीहरू घाइते भएको विवरण छ।
इजरेलस्थित नेपाली दूतावासले “केही नेपालीहरू घाइते भएको अपुष्ट खबर आएको र त्यसबारे थप जानकारी सङ्कलन भइरहेको” बीबीसीलाई बताएको छ।
इजरेलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता अर्जुन घिमिरेले “नेपालीहरू कार्यरत एउटा कृषि फर्ममा पनि आक्रमण भएको र त्यस क्रममा नौ जना नेपाली घाइते भएको” भन्ने विवरण आएको तर त्यसलाई दूतावासले आधिकारिक रूपमा पुष्टि गर्न बाँकी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी त्यो विवरण सही हो कि होइन र नेपालीको अवस्था के कस्तो छ भनेर बुझिरहेका छौँ। स्थिति अझै सामान्य नभएकाले यकिन कुराहरू आइसकेको छैन।”
कतिपय सञ्चारमाध्यमहरूले नौ जना नेपाली घाइते भएका र १७ जना नेपालीलाई हमासले बन्धक बनाएको पनि लेखेका छन्।
यद्यपि अहिले जेरुसेलममा रहेका गैर आवासीय नेपाली सङ्घ इजरेलका अध्यक्ष श्रीकृष्ण भण्डारीले “१७ जना नेपालीहरू कार्यरत रहेको कृषि फर्ममा आक्रमण भएको र नौ जना घाइते भए पनि बन्धक भने कोही पनि नभएको बुझिएको” बीबीसीलाई बताउनुभयो।
उहाँले भन्नुभयो, “त्यो फर्म रहेको क्षेत्र अहिले पनि तनावग्रस्त भएकाले इजरेली सेनाले फोन उठाउन पनि दिएको छैन त्यसैले कसैसँग पनि राम्ररी कुरा हुन सकिरहेको छैन। तर धेरै साथीहरू बङ्करमा सुरक्षित रूपमा बस्नु भएको छ भनेर त्यहाँबाट मेरो सम्पर्कमा आएका चार जना साथीहरूले भन्नुभएको थियो।”
उहाँले हालै इजरेल आएका नेपालीहरू बसेको स्थानमा हमला भएकाले उनीहरू आत्तिएको तर स्थानीय सुरक्षाकर्मीको निर्देशन पालन गरेर बस्न आफूहरूले सुझाव दिएको पनि जानकारी दिनुभयो ।
त्यसबारे बुझ्दा नेपालस्थित परराष्ट्र मन्त्रालय स्रोतले त्यस्तै खबर आएको तर “स्रोतहरू सीमित भएकाले” पुष्टि गर्न नसकेको जानकारी दिएको छ।
इजरेलमा नेपालीहरू घाइते भएको विवरण आएपछि परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेका बीबीसीले थाहा पाएको छ।
उक्त बैठकपछि मन्त्रालयले आधिकारिक विवरण र जानकारी सार्वजिन गर्ने अपेक्षा गरिएको छ।
विभिन्न विवरणमा जनाइए अनुसार हमलामा पर्ने नेपालीहरू नेपाल र इजरेलबीच भएको सरकार-सरकारबीच (जीटुजी) सम्झौता अनुसार कृषि क्षेत्रमा अध्ययनसँगै काम गर्न गएका नेपालीहरू हुन्।
भण्डारीका अनुसार अहिले त्यहाँ अहिले करिब आठ सय जति नेपाली नागरिकहरू कृषि क्षेत्रमा कार्यरत रहेको बुझिएको छ।
नेपालबाट प्रशिक्षार्थी कामदारका रूपमा पनि कृषि क्षेत्रमा नेपाली नागरिकहरू जाने गरेका छन्।
नेपाली कामदारहरू कार्यरत रहेको गाजा क्षेत्रको कृषि फर्ममा रकेट प्रहार हुँदा उनीहरू घाइते भएको बताइएको छ।
उक्त फर्ममा कुल १७ जना नेपाली कार्यरत रहेकोमा नौ जना घाइते भएको र दुईजनाको अवस्था गम्भीर रहेको खबर आएको छ।
त्यस क्षेत्रमा रहेका नेपालीहरूलाई अहिले सुरक्षित स्थलमा राखिएको र इजरेली सेनाले उनीहरूलाई मोबाइलमा कुरा नगर्न निर्देशन दिएकाले पनि सम्पर्क कठिन भएको अधिकारीहरूले बताएका छन्।
गैर आवासीय नेपाली सङ्घका अध्यक्ष भण्डारीले दिएको जानकारी अनुसार इजरेलमा विभिन्न क्षेत्रमा काम गर्न गएका नेपालीहरूको सङ्ख्या करिब पाँच हजार रहेको छ।
दूतावासको आग्रह
इजरेलस्थित नेपाली राजदूतावासले उक्त देशमा रहेका नेपालीहरूका लागि विशेषखाले अपिल जारी गरेको छ।
दूतावासले सामाजिक सञ्जालमार्फत नेपालीहरूलाई “सतर्क रहन र स्थानीय सुरक्षा निकायको निर्देशन पालन गर्न” भनेको छ।
उक्त अपिलमा भनिएको छ, “इजरेलको गाजासँगको सीमाना लगायत विभिन्न क्षेत्रमा हाल द्वन्द्व चलिरहेको सबैलाई जानकारी नै छ। यस्तो अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्नुहुन र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरश: पालना गर्नुहुन सबै नेपाली समुदायमा अनुरोध छ।”
“साथै, अप्ठ्यारोमा पर्नुभएका नेपाली नागरिकहरूको सहयोग तथा उद्धारका लागि दूतावासले इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरुसँग निरन्तर समन्वय गरिरहेको व्यहोरा अनुरोध छ।”
“…अप्ठ्यारो परिस्थिति छ, हामी सबै त्रसित छौँ। तर पनि यसको नकारात्मक सन्देश जानेगरी सोसल मिडियाहरूमा सेअर गरेर अरुलाई त्रसित नगराउनुहोला।”


















