Prakash Adhikari October 23, 2023

भक्तपुर,६ कात्तिक : धार्मिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध तान्त्रिक नाचका लागि नवदुर्गा देवगणलाई अत्यावश्यक मुकुण्डो तान्त्रिक विधि पुरा गर्दै निर्माण भएको छ ।

घण्टाकर्ण चतुर्दशीका दिनबाट सुरु भएको याछेंका ७७ वर्षीय पूर्ण चित्रकारले तीन महिना लगाएर तयार पारेको नवदुर्गाका भैरव (कालभैरव) १, महाकाली १, बाराही १, ब्रम्हायणी १, महेश्वरी १, कुमारी १, वैष्णवी १, ईन्द्रायणी १, गणेश १, महादेव १, श्वेतभैरव १, सिम्ह दुम्ह (नन्दी भृङ्गी) दुई गरी गरी १३ देवगणका लागि १३ वटा मुकुण्डो तान्त्रिक विधि पुरा गरी तयार भएको हो ।

तान्त्रिक विधि अनुसार विशेष प्रकारको बोचा भनिने माटोलाई मैदा र पानीको माडमा मुछेर डल्ला बनाई हावामा सुकाएर कपास एवं नेपाली कागज राखेर मुकुण्डो बनाइन्छ । यसरी निर्माण भएको मुकुण्डोलाई दुई साता सुकाएपछि तयार हुने चित्रकारले बताउनुभयो ।

दसैँको महानवमीको दिन साँझ चित्रकारको घरमा स्थानीयलाई दर्शनको लागि प्रदर्शनीमा राखिने मुकुण्डोलाई नवदुर्गा देवगण बन्ने गाथा अर्थात वनमालाले तान्त्रिक पुजाआजा गरी लैजाने विजयादशमीको दिन नवदुर्गा देवगणले सिद्धि प्राप्त गर्ने प्रचलन छ । नवदुर्गा देवगणको १३ वटा ख्वापा बनाउन रु.तीन लाख ५० हजार खर्च लागेको बताउदै चित्रकारले खर्च व्यवस्थापनको लागि रु. २५ लाखको अक्षय कोष स्थापना भएको जानकारी गराउनुभयो ।

विगतका धेरै वर्ष आफ्नै खर्चले मुकुण्डो बनाउदै आएपनि पछिल्लो वर्ष अक्षयकोष बनाएपछि सहज भएको उहाँले बताउनुभयो । नवदर्गा नाचमा खिं बाजा, तः बाजा, कायँःबाजा, महापात्र, नकीं र १३ देवगणसहित १९ जनाको समूह हुन्छ ।

Share Now

Leave a comment.