Prakash Adhikari October 23, 2023

काठमाडौँ, ६ कार्तिक। गैरआवासीय नेपाली संघ ११ औं अन्तराष्ट्रिय सम्मेलनपछि फुटेको छ । निर्वाचन प्रक्रियामा उठेको विवाद पछि सरकारी निर्णय अनुसार स्थगित प्रक्रियाले  संघलाई फुटको बिन्दुमा पुर्याएको हो । निर्वाचनमा सिस्टम ह्याक गरी फर्जी  मतदान गराएर नेकपा एमाले समर्थक डा.बद्री के.सी.को प्यानल विजयी बन्ने अवस्था आएसंगै सरकारले निर्वाचन प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।

स्वच्छ निर्वाचनको माग गर्दै जारी निर्वाचन प्रक्रियामा मतभेद जनाएका नेपाली कांंंग्रेस र नेकपा माओवादी केन्द्र निकट उम्मेदवारहरुले सहमतिमा आइतबार नयाँ समिति गठन गरेका छन् । उता सरकारले स्थगन गरेको निर्वाचन प्रक्रियालाई नै वैधानिक भएको भन्दै सो निर्वाचनमा अधिक मत हासिल गरेको डा.बद्री के.सी. नेतृत्वको समूहले शनिवार नै शपथ ग्रहण गरिसकेको छ ।

असन्तुष्ट पक्षले आइतबार ११ विश्व सम्मेलन सम्पन्न भएको र सो सम्मेलनले सहमतिमा नयाँ कार्यसमिति  चयन भएको जनाएको छ । सो समितिले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री एनपी साउद र अर्थमन्त्री डा. प्रकाशशरण महतसंग गरेको भेट र  प्रधानमन्त्री तथा    मन्त्रीहरुका अभिव्यक्तिले असन्तुष्ट पक्षको समितिले वैधानिकता पाउने संकेत दिएको छ । एनआरएनएको १० औं महाधिवेशनले पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा रहेको ठूलो समूहलाई एनआएनए अभियानबाट बाहिर पारेको थियो भने ११ औं अधिवेशनले दुई समानान्तर समिति बनाएर बाँकी रहेको औपचारिक र वैधानिक संगठनलाई ठाडैं दुई चिरामा विभाजन गरेको  छ ।

११ औं महाधिवेशनमा नेकपा माओवादी केन्द्र समर्थकहरुको तर्फबाट उम्मेदवार बन्नुभएका राजेन्द्र शर्माको नेतृत्वमा बनेको सहमतिको समितिसंगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको आर्थिक विाकास र समृद्धिमा गैर आवासीय नेपालीहरूको भूमिका आवश्यक भएको भन्दै त्यसका लागि सरकार सहजीकरणको लागि तयार रहेको बताउनुभएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आर के शर्मा नेतृत्वको गैर आवासीय नेपाल संघको (एनआरएनए) नव निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दैै उक्त कुरा बताउनुभएको हो ।

“एनआरएनए अभियान एकताबद्ध भएर अगाडि बढ्छ भन्नेमा म विश्वस्त छु,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “देश विकासका मुद्दामा सरकार सदैव गैरआवासीय नेपालीसँग सहकार्य गर्न तयार छ।”

प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीहरूको माग अनुसार नागरिकता विधेयक कार्यान्वयन आएर गैरआवासीय नागरिकता दिन थालिएको र आगामी दिनमा विदेशबाट नेपाली मत दिन पाउने व्यवस्था कार्यान्वयन हुने पनि बताउनुभयो ।

शर्मा नेतृत्वको एनआरएनए नयाँ कार्यसमितिसमक्ष नेपालमा लगानीको अनेकौँ अवसर भएको भन्दै प्रधानमन्त्रीले लगानी गर्न सुझाव पनि दिनुभएको थियो । उहाँले मुलुकको समृद्धिमा गैर आवासीय नेपालीहरूको महत्त्वपूर्ण भूमिका हुने भन्दै समृद्धिको यात्रामा सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष शर्माले संघ सरकारसँगको सहकार्यमा काम गर्न तयार रहेको बताउनुभयो । उहाँले आफूले चुनावी घोषणापत्रमा २४ महिने कार्यकालमा २४ वटा काम गर्ने वाचा गरेको भन्दै सोहीअनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले गैरआवासीय नेपालीलाई एकताबद्ध बनाउने अभियानलाई परिणाममा पुर्याउने पनि बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एनआरएनए अध्यक्ष शर्मा सहित पूर्वअध्यक्ष कुल आचार्य, सल्लाहकार महेश श्रेष्ठ, उपाध्यक्ष गोविन्द श्रेष्ठ, गंगाधर गौतम, महासचिव बुद्धिसागर सुवेदी, उपमहासचिव प्रविन गुरुङ, सचिव टंक गैरे, मनोज श्रेष्ठ गोर्खाली, कोषाध्यक्ष ठाकुर ढुंगाना, एनसीसी बेल्जियम अध्यक्ष सीता सापकोटा, एनआरएन अभियन्ता डिबी क्षेत्री, नारायण आचार्य, युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा लगायत अभियन्ताहरू सहभागी हुनुहुन्थ्यो ।

एनआरएनए अध्यक्ष शर्माको नेतृत्वको टोलीले आइतबार नै अर्थमन्त्री प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेको थियो ।

शर्माको नेतृत्वमा अर्थमन्त्रीसँगको भेटमा एनआरएनएको पदाधिकारीको टोलीले रेमिटेन्स रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने, वैधानिक तरिकाले रेमिटेन्स पठाउनेलाई २ प्रतिशत प्रोत्साहन रकम दिनुपर्ने र रेमिट्यान्सको रकम उत्पादन मूलक क्षेत्रमा लगाउन सामूहिक लगानी प्राधिकरण बनाउनुपर्ने माग राखेको थियो ।

एनआरएनएको शर्मा नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री महतले नेपालको आर्थिक विकासको लागि एनआरएनएसँग सहकार्य गरेर अगाडि बढ्ने र रेमिटेन्स रकमलाई उत्पादन मूलक क्षेत्रमा लग्नको लागि आफूले आवश्यक नीति लिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यस्तै साना मझौला स्टार्टअप कम्पनी प्रोत्साहन गर्नुपर्ने सस्तो ब्याजदर ऋण दिने तथा विदेशमा रहेका नेपालीलाई टेलिमेडिसिन स्थापना गराउन माग एनआरएनएले राखेको थियो । नेपालीहरूको हितको कुरा विषयमा आवश्यक पर्ने बजेट विनियोजन गर्न शर्माले अर्थमन्त्री महतको ध्यानाकर्षण गर्नुभएको थियो ।

आइतबार नै शर्माको टोलीले परराष्ट्रमन्त्री एनपी साउँदसँग पनि भेटघाट अन्तरक्रिया गरेको छ । परराष्ट्रमन्त्री साउदले शर्मा नेतृत्वमा रहेको एनआरएनएको नवनिर्वाचित कार्यसमितिले राज्यको लागि राम्रो काम थालनी गर्ने लगानी पुँजी, भित्राउने विदेशमा रहेका नेपालीहरूको लागि बृहत्तर हितको लागि काम गर्ने सशक्त रूपमा अघि पुर्‍याउन सकोस् भन्नेमा आफू विश्वस्त रहेको बताउनुभये ।

भेटमा परराष्ट्रमन्त्री साउदले शर्माको नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदैं आफूहरु सहकार्य गरेर अगाडि बढ्ने जानकारी दिनुभएको थियो ।

परराष्ट्रमन्त्रीसँगको भेटमा शर्मा नेतृत्वको टोलीले नेपालीको पासपोर्ट रिन्यू, श्रम स्वीकृति सहजीकरण तथा नेपालमा विद्यार्थी भिसामा विदेशीलाई ल्याउनुपर्ने नीति सहजीकरणको लागि आग्रह गरेको छ । कुवेत, इराक, माल्टालगायतका देशमा पासपोर्ट नवीकरण र श्रम स्वीकृतिमा सहजीकरण गरेर समस्या समाधान गर्न शर्माको नेतृत्व टोलीले परराष्ट्रमन्त्री साउदको ध्यानाकर्षण गराएको छ । हालै मात्र सरकारले नेपालीको युरोपका केही देशमा दूतावास खोल्ने निर्णय गरेको छ ।

अर्थमन्त्री महत र परराष्ट्रमन्त्री साउँदसँगको भेटमा एनआरएनए अध्यक्ष शर्मा सहित एनआरएनएका सल्लाहकार महेश श्रेष्ठ, उपाध्यक्ष गोविन्द श्रेष्ठ, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, विजय मोक्तान, महासचिव बुद्धिसागर सुवेदी, सचिव टंक गैरे, कोषाध्यक्ष ठाकुर ढुंगाना, एनसीसी बेल्जियम अध्यक्ष सीता सापकोटा, एनआरएन अभियन्ता डिबी क्षेत्री, नारायण आचार्य, युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटालगायत अभियन्ताहरू सहभागी रहेको शर्मा नेतृत्वको नवनिर्वाचित कार्यसमितिले जनाएको छ ।

आइतबार सम्पन्न भएको एनआरएनए विश्व सम्मेलनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको आर के. शर्मा नेतृत्वको समूहको दाबी छ भने अर्कोतिर बद्री केसी समूहले आफूहरुले जितेको भन्दै शनिबार नै सपथ ग्रहण पनि गरिसकेको छ ।

यसरी एनआरएनएको ११ औं महाधिवेशनले संगठनलाई ठाडै दुई चिरामा विभाजन गरेको छ ।

Share Now

Leave a comment.