वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), १३ बैशाख (बीबीसी) ।फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले अमेरिकी संसद्का दुवै सदनलाई एउटा विरल सम्बोधनका क्रममा आफ्ना समकक्षी डोनल्ड ट्रम्पका केही नीतिहरूलाई सशक्त रूपमा चुनौती दिएका छन्।
सम्बोधनका क्रममा सांसदहरूबाट धेरै पटक सम्मान पाएका माक्रोंले उर्लंदो राष्ट्रवादले विश्वव्यापी समृद्धिको आशालाई चुनौती दिएको चेतावनी दिए।
र, पृथक रहने नाममा अन्तर्राष्ट्रिय रूपमा सहभागिता नत्याग्न उनले आग्रह समेत गरे।
ट्रम्पको आलोचना गरेको प्रष्ट बुझ्ने गरी माक्रोंले अहिलेका उद्योगहरूलाई बचाउँदा जलवायु परिवर्तन र प्रदूषणसँग जुझ्न विफल भएको बहाना बनाउन नमिल्ने बताए।
विश्वस्त
उनले हरितगृह ग्यास उत्सर्जनलाई सीमित पार्ने प्यारिस सम्झौतामा अमेरिकामा फर्किनेमा आफू विश्वस्त रहेको उल्लेख गरे।
उनले थपे, यो ग्रहको अर्को विकल्प छैन।
अहिलेसम्मकै न्यायो देखिएको आफ्नो भ्रमणमा माक्रोंले अन्तर्राष्ट्रिय व्यापार, इरान मामिला र वातावरणका विषयमा आफ्नो फरक मत राखे।
सम्बोधन गर्न लागेका माक्रोंप्रति सांसदहरू तीन मिनेटसम्म उभिएर सम्मान दर्शाएका थिए।
‘कहिल्यै नटुट्ने’
उनले स्वतन्त्रता, सहिष्णुता र बराबरीको अधिकारले गाँसिएको ‘कहिल्यै नटुट्ने’ अमेरिका र फ्रान्सबीचको सम्बन्धको प्रशंसा गरे।
माक्रोंले राष्ट्रपति ट्रम्पसँग एउटा सशक्त सम्बन्धको विकास गरेका छन् र ट्रम्पले सत्ता सम्हालेयता अमेरिकाको राजकीय भ्रमण गर्ने उनी पहिलो विदेशी नेता हुन्।
तर फ्रान्सेली राष्ट्रपतिका टिप्पणीहरूले दुई नेताहरू सबै विषयमा एकमत नरहेको देखाउँछ।
उनले थपे, “हामी बृहत् समृद्धि हासिल गर्न विश्वले लिएको आशालाई उग्रराष्ट्रवादी गतिविधिका कारण धरमराउन दिँदैनौँ।”