तेलअबिब ( इजरायल), १३ कार्तिक। दक्षिणी इजरायलको किबुजमा प्रशिक्षणमा रहेका बेला प्यालेस्टिनी हमास समूहको आक्रमण परी ज्यान गुमाएका थप तीन जना नेपाली विद्यार्थीको शव पहिचान भएको छ।
तेलअबिबस्थित नेपाली दूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव पहिचान भएको हो।
योसँगै आठ जना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको छ। बाँकी दुईजनाको शव पहिचानका क्रममा रहेको छ।
इजरायल सरकारले उपलब्ध सम्पूर्ण संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन भएका विपीन जोशीको खोजी जारी रहेको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
हमासको आक्रमणमा परी घाइते भएका चारजना विद्यार्थीमध्ये दुई जनालाई अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको छ। डिस्चार्ज गरिएकामध्ये एकजना नेपाल आइसकेका र अर्का एकजना दूतावासको रेखदेखमा रहेका छन्। साथै अन्य दुईजनाको इजरायलमा उपचार भइरहेको छ।