Prakash Adhikari October 31, 2023

काठमाडौँ, १४ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा राष्ट्रसङ्घले सघाउने बताउनुभएको छ ।

आज सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै गुटेरेसले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनेक्रममा नेपालले चाल्ने कदमको सहजीकरणका लागि राष्ट्रसङ्घले भूमिका खेल्ने बताउनुभएको हो ।

नेपालले सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने लक्ष्य राखेको छ । “नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेकोमा ‘स्मुथ ट्रान्जिसन’का लागि संयुक्त राष्ट्रसङ्घले सहयोग गर्नेछ । अहिले नेपालले अल्पविकसित मुलुकहरुको अध्यक्षता गरिरहेकोमा अरु देशका लागि पनि नेपालले चाल्ने कदमको महत्वपूर्ण अर्थ रहन्छ”, उहाँले भन्नुभयो ।

नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी गतिविधिको प्रसंशा गर्नुहुँदै गुटेरेसले विश्व शान्ति स्थापनाका लागि शान्ति सेनामार्फत् महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो ।

त्यस्तै जलवायु परिवर्तनका असर न्युनीकरणको अभियानमा नेपाल एक्लै नरहेको उहाँको भनाइ छ । “जलवायु परिवर्तनका मुद्दामा नेपाल एक्लै छैन । संयुक्त राष्ट्रसङ्घले नेपालले लिएको नेतृत्वलाई सम्मान गर्दछ र हामी पनि सँगै छौं । राष्ट्रसङ्घ सहयोग गर्न तयार छ”, गुटेरेसले भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घ र नेपालबीच लामो समयदेखिको सम्बन्ध रहेको पनि उहाँले सो अवसरमा उल्लेख गर्नुभयो ।

प्रभावित मुलुक र समुदायलाई विकसित मुलुकले सहयोग गर्नैपर्छ

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायका लागि विकसित मुलुकले क्षतिपूर्तिका रुपमा आर्थिक र सामाजिक सहयोग गर्नेपर्ने बताउनुभएको छ ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै महासचिव गुटेरेसले कार्वन उत्सर्जनमा नेपालको भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असर खेपिरहेकाले नेपालसमेतले यसको क्षतिपूर्ति स्वरुप विकसित मुलुकबाट जलवायु अनुकूललगायत क्षेत्रमा सहयोग पाउनुपर्ने बताउनुभयो ।

चारदिने औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेसले सोमबार जलवायु परिवर्तनका कारण हिमाल पग्लिएर क्षति व्यहोरेका सोलुखुम्बुको सगरमाथा क्षेत्रका स्थानीयसँग छलफल गर्नुभएको थियो ।

नेपाली सेनाले शान्ति मिसनमा गरेको योगदान अविस्मरणीय

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाली सेनाले राष्ट्रसङ्घीय शान्ति मिसनका लागि गर्दै आएको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ ।

सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज सम्बोधन गदै महासचिव गुटेरेसले शान्ति मिसनका क्रममा मारिएका नेपाली सुरक्षाकर्मीको सम्मानमा एक मिनेट मौनधारण गर्न प्रस्ताव गर्दा बैठकमा सबै सदस्यहरु आफ्नो स्थानबाट उठेर मौनधारण गर्नुभएको थियो ।

नेपालको शान्ति प्रक्रियामा सघाउन पाउँदा गौरव

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताउनुभएको छ ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै महासचिव गुटेरेसले भन्नुभयो, “नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्र सङ्घ गौरव व्यक्त गर्दछ, यस क्षणमा म नेपालका शान्ति प्रक्रियामा संलग्न नेताहरुप्रति राष्ट्र सङ्घका तर्फबाट सम्मान व्यक्त गर्दछु ।”

नेपालले शान्ति प्रक्रियाअन्तर्गत सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पु¥याउन लागेकामा शुभेच्छा व्यक्त गर्नुहुँदै उहाँले पीडित पक्षको अधिकारको रक्षा गर्दै उक्त प्रक्रियालाई टुङ्गोमा पु¥याउन आग्रह गर्नुभयो ।

महासचिव गुटेरेसले विश्व आर्थिक मन्दीको चुनौतीका बीच नेपालले लैङ्गिक समताका क्षेत्रमा गरेको प्रगति र परिणाम उल्लेखनीय भएको बताउनुभयो ।

संसदमा  सम्बोधन

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टियो गुटेरेसले सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन सुरु गर्नुभएको छ । त्यसअघि सभामुख देवराज घिमिरेले महासचिव गुटरेसलाई सम्बोधनका लागि अनुमति दिनुभयो ।

महासचिव गुटेरेस सङ्घीय संसद भवन नयाँ बानेश्वर पुग्दा सुरुमा सङ्घीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमलगायतले स्वागत गर्नुभयो । महासचिव गुटेरेस भवन प्रवेश गर्नुभएपछि सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना मगर, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायतले स्वागत गर्नुभयो ।

सो अवसरमा महासचिव गुटेरेसले र सभामुख घिमिरे, राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना, उपभामुख राना मगर, राष्ट्रियसभा उपाध्यक्ष अर्यालसँग संक्षिप्त भेटवार्ता गर्नुभयो ।

महासचिव गुटरेसको स्वागतका लागि सङ्घीय संसद भवनलाई सिङ्गारिएको थियो । भवनको मुख्यद्वारदखि नै नेपालको झण्डा, तुल ब्यानर राखिएको छ । आजको बैठकमा सङ्घीय संसद सचिवालयले सांसदहरुलाई राष्ट्रिय पोशाकमा उपस्थित हुन आग्रह गरेको थियो ।

संसद भवनमा पूर्वसभामुख दमननाथ ढुङ्गाना र अग्निप्रसाद सापकोटा, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, यहाँस्थित कुटनीतिक नियोगका प्रतिनिधि, नेपाल सरकारका उच्च अधिकारी, प्राध्यापक, पूर्वसांसद तथा सञ्चारकर्मीको उपस्थिति छ ।

यही कात्तिक १२ गते चार दिने नेपाल भ्रमणमा आउनुभएका महासचिव गुटेरेसले यसबीचमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख घिमिरे, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसक्नुभएको छ ।

यस्तै, उहाँले सोलुखुम्बुको खुम्बु क्षेत्र, अन्नपूर्णको आधार शिविर पुगेर जलवायु परिवर्तनले पारेको असरका बारेमा जानकारी लिनुभएको थियो । त्यसैगरी उहाँले हिजो पोखरा पुग्नुभइ पुम्दिकोटस्थित महादेवको विशाल मूर्ति अवलोकन गर्नुभयो भने फेवातालमा नौका बिहार गर्नुभयो । साथै आजै विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी पुगेर विश्व शान्तिका लागि आह्वान गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणका आउनुभएका महासचिव गुटेरेसले शान्ति प्रक्रिया र जलवायु परिवर्तनका विषयलाई प्राथमिकतामा राख्नुभएको छ । लुम्बिनीमा आजै प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसले सम्बोधन गर्नुभएको थियो ।

Share Now

Leave a comment.