काठमाडौं, १४ कार्तिक। नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।
निगमले आज प्रकाशित गरेको विज्ञप्तिमा डिजल र मट्टीतेलमा प्रति लिटर ४ रुपैया घटाइएको व्यहोरा उल्लेख छ ।
निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि मूल्य प्रति लिटर ४ रुपैयाँका दरले घटाउन संभव भएको जनाएको छ ।
घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुनेछ ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैया ५१ पैसाले र खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर ९३ रुपैया ६० पैसाले बढेको भए पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन बमोजिम उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य यथावत राखिएको जानकारी दिएको छ । निगमले हवाई इन्धनको पनि मूल्य बढाएको छैन् ।
इण्डियन आयल कर्पोरेशनले १५ । १५ दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ । निगमले सोही मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरी बिक्री वितरण गर्दै आइरहेको छ ।
निगमले आईओसीलाई १५ । १५ दिनमा खरिद गरेको इन्धनको रकम भुक्तानी पनि गर्ने गरेको छ ।



















