कीर्तिपुर(काठमाडौं), १६ कार्तिक । आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित हुँदै नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
ओमानसँग पराजित भए पनि नेपाल समूह उपविजेताको रुपमा अन्तिम चारमा पुगेको छ।नेपालविरुद्धको जितले ओमान समूह ए को विजेताको रुपमा फाइनलमा पुगेको छ।
ओमानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १ सय ४० रन बनाउँदा अलआउट भयो।
बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले अपेक्षा अनुरुप प्रदर्शन गर्न सकेन । घरेलु मैदान र घरेलु दर्शकका बीचमा पनि न नेपालको बलिड. कसिलो भयो न ब्याटिड. । प्रतिस्पर्धी टिमलाई न्यून आँकलन गर्दा नेपालका शीर्ष ब्याट्सम्यानहरु अनपेक्षित रुपमा आउट हुन पुगेका थिए ।
विवेक यादवले अन्तिम ओभरमा लगातार ३ छक्का प्रहार गर्दै खेललाई रोमाञ्चक स्थितिमा ल्याएका थिए।
विवेकले २३ बलमा ५ चौका हान्दै ३९ रन बनाएका थिए । उनी विलाल खानको बलमा आयान खानको हातबाट क्याच आउट भए।
घरेलु टोलीलाई कम स्कोरमा रोक्न ओमानका शकिल अहमद, मेहर खान र अकिब इलियासले समान २ विकेट लिए। विलाल खान र जेसन मक्सुदले समान १ विकेट लिए।
नेपालका लागि ओपनर कुशल भुर्तेलले २६ रन बनाए । उनले १८ बलमा १ चौका र ३ छक्का हानेका भुर्तेल मेहर खानको बलमा बोल्ड भए।
सोमपाल कामी, रोहित पौडेल र सन्दीप जोरा समान १२ रनमा पवेलियन फर्के। कुशल मल्ल १० र आशिफ शेख ५ रनमा आउट भए। गुलसन झा ३ र सन्दीप लामिछाने २ रनमा आउट भए। अबिनास बोहोराले १ रन जोड्न सके ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४५ रनको योगफल तयार पारेको थियो।
नेपालका लागि करण केसी एक्लैले तिन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए। गुलसन झा र अविनास बोहोराले समान १ । १ विकेट लिए ।


















