काठमाडौं, १७ कार्तिक । नेपालले आइसीसी टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।
विजेता टोली २०२४ को टी २० विश्वकप खेल्न पाउनेछ । नेपाल युएईलाई हराउँदै २०१४ पछि २०२४ को टी २० विश्वकप खेल्ने लक्ष्य हासिल गर्न मैदान उत्रदै छ ।
नेपाली टिम कप्तान रोहित पौडेलको नेतृत्वमा मैदानमा उत्रिने छ भने र युएई मोहम्मद वासिमको नेतृत्वमा ।
नेपाल आईसीसी टी २० विश्वकप एशिया अन्तिम छनोट प्रतियोगितामा समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा आइपुगेको हो भने युएई समूह बी को विजेता बन्दै ।
नेपाल २०२१ को छनोटको निर्णायक खेलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन । नेपाल त्यो हारको बदला लिँदै विश्वकप खेल्न चाहन्छ ।
नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट, मलेसियालाई ६ विकेटले हराउँदा ओमानसँग पाँच रनले हारेको थियो । युएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराएको थियो । हङकङलाई २२ रनले हराएको थियो ।
नेपाली टिमको नेतृत्व कप्तान रोहितले गर्नेछन् । टिममा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि।सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी रहेका छन् । घाइते भएका दीपेन्द्र सिंह ऐरी मैदानमा उत्रिने जोखिम उठाएमा सन्दीप जोरा बेञ्चमा पर्न सक्ने बताइन्छ ।
युएईको टोलीमा मोहम्मद वासिम, अर्यांश शर्मा, एलिशान शराफु, जुनैद सिद्दिक, बासिल हामिद, आसिफ खान, आयन खान, अली नासिर, कार्तिक मयाप्पन, सन्चित शर्मा, जहुर खान, मोहम्मद जवादुल्लाह, निलान्श केश्वानी, खालिद शाह र वृत्य अरविन्द ।
आजको अर्को सेमिफाइनल खेलमा टियु क्रिकेट मैदानमा ओमान र बहराइनबीच प्रतिस्पर्धा हुनेछ । नेपालले ओमानसँग हारेपछि बहराइनसँग सेमिफाइनल खेल्ने अवसर गुमाएको थियो ।
ओमान समूह ए को विजेता र बहराइन समूह बी को उपविजेता बन्दै सेमिफाइलन खेल्न लागेका हुन् । फाइनल भने आइतबार बिहान ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।
युएई नेपालको सधैंको प्रतिस्पर्धी बन्दै आएको छ । युएई तगारो बन्दा टी २० विश्वकपमा खेल्ने अवसर नेपालले गुमाएको थियो । यसैले आजको खेल नेपाली टिमले सम्हालिएर खेल्नुपर्ने छ ।
नेपालका टप ब्याटरहरु कुशल भूर्तेल,कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, कप्तान रोहितले सम्हालिएर खेलेमा युएईलाई परास्त गर्न नेपाललाई कठिन हुने छैन् । यस अगाडि सम्पन्न त्रिकोणात्मक शृड.खलामा नेपालले मूलपानी मैदानमा युएईलाई पराजित गरेको पनि हो ।
चीनमा सम्पन्न एघारौं एशियाली खेलमा टी २० मा विश्व कीर्तिमान बनाएको नेपाली टिमसंग नेपाली र विश्वका क्रिकेटप्रेमीले ठूलो आशा राखेका छन् ।


















