बीरेन्द्रनगर(सुर्खेत), १८ कार्तिक । गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ।
प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको हो।
यस्तै अहिलेसम्म प्राप्त विवरणअनुसार भूकम्पमा परी घाइते हुनेको संख्या १ सय ४० पुगेको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ।
प्रधानमन्त्रीको कार्यालयका अनुसार भूकम्पका कारण जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना घाइते विवरण प्राप्त भएको छ । क्षतिको विवरण संकलन जारी छ।
उद्धार खोजीमा प्रहरी
शुक्रवार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा सबैभन्दा धेरै क्षति भएको र आफूहरूको ध्यान उद्धार तथा खोजमा केन्द्रित रहेको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले बीबीसीलाई बताउनुभएको छ।
नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले ती दुई जिल्लामा गरी १ सय १० जना घाइते भएको विवरण आएको बताउनुभएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले ६.४ म्याग्निट्यूड मापन गरेको उक्त भूकम्पपछि केही साना परकम्पहरू केन्द्रबिन्दु आसपास गएका थिए।
उद्धार कार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका अधिकारीहरू खटिएका छन् भने हेलिकोप्टरसमेत परिचालन गरिएको छ।
अमेरिकी निकाय यूएसजीएसले उक्त भूकम्पको केन्द्रबिन्दु जुम्लाभन्दा ४२ किलोमिटर दक्षिण रहेको र त्यसको म्यागनिच्यूड ५.६ रहेको जनाएको छ।
सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि सबैभन्दा घातक भुइँचालोका रूपमा शुक्रवार रातिको भूकम्पलाई लिइएको छ। मध्यरातमा सुतिरहेको अवस्थामा भूकम्प आएकोले कच्चि घरहरु भत्कदा धेरै जनाको जीवन गुमेको र धेरै घाइते भएको पाइएको छ । भूकम्पमा धेरै मानवीय क्षति भवनहरु भत्केर मानिसहरु पुरिने र चोटपटक लागेर मृत्यु र घाइते हुँदा हुने गर्दछ ।
अधिकारीहरू के भन्छन् ?
नेपाली सेनाका प्रवक्ता भण्डारीलेले स्थानीय क्षेत्रमा रहेका सबै फौजहरू भूकम्प गएका ठाउँमा खटाइएको र आठवटा प्लाटुन र सुर्खेतमा रहेको हेलिकोप्टर पनि उद्धार तथा खोजमा केन्द्रित गरिएको जानकारी दिनुभएको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टरसहित सुरक्षाकर्मी खटाइएको बताउनुभएको छ।
उहाँले भन्नुभयो, “अहिलेसम्म सबैभन्दा धेरै क्षति जाजरकोट र रुकुम पश्चिममा भएको विवरण छ। त्यहाँ धेरै घरहरू भत्किएका छन् भने ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या पनि बढी छ।”
उहाँले सुर्खेतमा रहेको गणबाट पनि सुरक्षाकर्मी खटाइएको र केन्द्रमा परिचालन हुनका लागि स्वास्थ्यकर्मीहरूको टोली तयार भएर बसेको पनि बताउनुभयो।
स्थानीय समय अनुसार राति ११ः४७ मिनेटमा गएको सो भूकम्पको धक्का राजधानी काठमाडौंमा पनि महसुस गरिएको थियो।
त्यसबाहेक छिमेकी भारतको दिल्लीसहित कतिपय सहरहरूमा पनि उक्त भूकम्पलाई महसुस गरिएको थियो।
उपचारको व्यवस्था
भेरी अस्पतालमा मात्रै गम्भीर घाइतेहरूको उपचार सम्भव नभए नेपालगन्ज नर्सिङ होम र मेडिकल कलेज कोहलपुरमा समेत उपचार गर्ने व्यवस्था मिलाइएको छ।
राँझास्थित नेपाली सेनाको अस्पताल, नेपालगन्जको प्रहरी अस्पताल र भेरी अस्पतालमा घाइतेहरूको उपचारका लागि १ सय ५ वटा शय्या खाली गराइएको अधिकारीहरूले बताएका छन्।
बिरामीलाई आवश्यक रगतको व्यवस्था गर्नका लागि सुरक्षाकर्मीलाई रक्तदानका लागि तयारी अवस्था राखिएको अधिकारीहरूलाई उद्धृत गर्दै नेपालगन्जस्थित बीबीसी संवाददाता बिमला चौधरीले बताउनुभएको छ ।
कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले भूकम्पलगत्तै प्रभावित क्षेत्रमा प्रहरी लगायतका सुरक्षाकर्मीले घाइतेलाई उद्धार गर्ने काम थालेको जानकारी दिनुभएकोे छ।
उहाँका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयबाट उद्धारका लागि ५६ जनाको टोली पठाइएको छ।
प्रहरी अस्पतालबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ हिँडिसकेको डीआईजी ढकालले बताउनुभयो।
उहाँले भन्नुभयो, “ठाउँठाउँमा सुक्खा पहिरो गएको हुँदा उद्धारमा कठिनाइ भइरहेको छ। हवाई उद्धारका लागि पनि प्रयासहरू भइरहेको छ।”
प्रधानमन्त्री प्रभावित क्षेत्रतर्फ
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा उद्धार एवं राहतमा जुट्न अपिल गर्नुभएको छ ।
उहाँले उक्त भूकम्पबाट भएको मानवीय एवं भौतिक क्षतिले मर्माहत भएको र घाइतेहरूको तत्काल उद्धारका लागि तीनवटै सुरक्षा निकायलाई परिचालन गरिएको उहाँको समाजिक सञ्जाल फेसबुकको खातामा उल्लेख गरिएको छ।
प्रधानमन्त्रीसहित ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको टोली उद्धार, स्वास्थ्य सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रतर्फ लागेको उहाँको सचिवालयले जनाएको छ।


















