बीरेन्द्रनगर(सुर्खेत), १८ कार्तिक । जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडामा केन्द्र विन्दु बनाई गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ५४ पुगेको छ।
अहिलेसम्म प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुमुकपश्चिममा ६२ जनाको मृत्यु भएको हो। घाइतेको संख्या डेढ सयभन्दा माथि पुगिसकेको छ।
भूकम्पमा परी गम्भीर घाइते भएका रुकुमपश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ।
रुकुमपश्चिको आठबीसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले भूकम्पमा परी सो नगरपालिकामा मात्र ५२ जनाको मृत्यु भएको बताउनुभएको छ।
यस्तै, आठबीसकोटमा ६० जना घाइते भएका छन्। तीमध्ये गम्भीर ३ जनालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ।
उपप्रमुख धनकुमारीका अनुसार उद्धार र क्षतिको विवरण संकलन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्नेछ।


















