Prakash Adhikari November 6, 2023

काठमाडौँ, २० कार्तिक । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा गरिएको लगानीबाट लगानीकर्ताले नाफा कमाएको पर्याप्त उदाहरण रहेको बताउनुभएको छ ।

सुरु ३७औँ क्यास्सी सम्मेलनमा सम्बोधन गर्दै नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ताले पर्याप्त नाफा कमाएको उदाहरण प्रस्तुत गर्नुभएको हो ।

उहाँले भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषण गरेको स्मरण गर्दै बिजुली र सौर्य ऊर्जा लगानीका मुख्य क्षेत्र हुन सक्ने बताउनुभयो । यस्तै बङ्गलादेशले समेत बिजुली किन्ने प्रक्रिया अघि बढाएको अर्थमन्त्रीले जानकारी गराउनुभयो।

यसबाहेक हिमालयका कारण नेपाल पर्यटनको प्रमुख गन्तव्य बन्न सक्नेमा अर्थमन्त्रीको जोड थियो । ुनेपाल पर्यटनमा ठुलो सम्भावना बोकेको देश हो, एफएनसीसीआईका अध्यक्षले समेत सिरिजमा केबलकारमा लगानी गर्दै हुनुहुन्छ,ु डा. महतले भन्नुभयो ।

यस्तै सूचना र प्रविधि क्षेत्रमा समेत सरकारले लगानीको सम्भावना देखेको अर्थमन्त्री महतले बताउनुभयो । यही सम्भावना देखेर चालु आर्थिक बर्षको बजेटमार्फत सूचना प्रविधि क्षेत्रमा आयकर घटाएको महतले जानकारी गराउनुभयो । नेपालमा लगानी गर्नलाई वान डोर पोलिसी सञ्चालनमा रहेको र ठुला लगानीलाई सहयोग गर्न लगानी बोर्ड नै सञ्चालनमा रहेको महतले बताउनुभयो ।

अर्थमन्त्री डा. महतले अबको केही महिनामा नेपाल लगानी सम्मेलनको आयोजनामा सरकार जुटेको बताउनुभयो । यसबाहेक विश्व बैंकले समेत नेपालमा जलविद्युत क्षेत्रमा लगानी बढाउने तयारीमा रहेको जानकारी गराउनुभयो । विश्व बैंकले नेपालका दुई जलविद्युत आयोजनमा लगानीको तयारी गरिरहेको छ । यसबाट नेपाल लगानीको केन्द्र रहेको पुष्टि हुन्छ ।

नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई निजी क्षेत्रका छाता संगठनले समेत सहयोग गर्ने भएकाले ढुक्कले लगानी गर्न सम्मेलनमा उपस्थित दुई दर्जन बढी देशका व्यवसायीलाई महतले आग्रह गर्नुभएको थियो ।

Share Now

Leave a comment.