Prakash Adhikari November 7, 2023

बीरेन्द्रनगर(सुर्खेत), २१ कार्तिक । सोमबार दिउँसो जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको परकम्पबाट जाजरकोट र रुकुम पश्चिममा थप १३ जना घाइते भएका छन्। सोमबारको परकम्पबाट तीनवटा घर भत्किएका प्रहरीले जनाएको छ।

सोमबार दिउँसो ४ः३४ बजे जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५।८ म्याग्निच्युडको भूकम्प गएको थियो। यो भूकम्प शुक्रबार राति जाजरकोटकै रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडकोको भूकम्पकै परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

सोमबारको परकम्पबाट जाजरकोटमा ३ वटा घर भत्किएका जिल्ला प्रहरी जाजरकोटमा डीएसपी सन्तोष रोकायले जानकारी दिनुभएको छ।

भूकम्पबाट रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा ४ जना, चौरजहारी नगरपालिकाका २ जना र सानीभेरी गाउँपालिकाका एकजना गरी ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

आठबीसकोट ११ का ३७ वर्षीय बीरबहादुर बुढा, सुवासना आग्री, आठबीसकोट १२ का २२ वर्षीय सुरज बिक र ५ वर्षीया ज्ञानिल बिक घाइते भएका छन्।

त्यसैगरी चौरजहारी नगरपालिका ४ का १५ वर्षीया लक्ष्मी नेपाली र चौरजहारी ७ का ३१ वर्षीय उदयराज कामी पनि घाइते भएका छन्। सानीभेरी गाउँपालिका ४ मा एकजना घाइते भएका प्रहरीले जनाएको छ। उनीहरु सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

यसअघि गत शुक्रबार राति जाजरकोटकै रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा गरी अहिलेसम्म १ सय ५३ जनाको मृत्यु भएको थियो भने ३ सय ३८ जना घाइते ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त क्षेत्रमा शुक्रवारको भूकम्पछि ३ सय वटाभन्दा बढी परकम्पहरू गइसकेका छन्।

“पहिलेकै स्थानमा केन्द्रबिन्दू भएको भूकम्प गएको छ। त्यो पहिलेकै भुँइचालोको परकम्प हो,” केन्द्रका भुकम्पविद् डा. चिन्तन तिम्सिनाले भन्नुभएको छ।

“यो चार म्याग्निट्युडमाथिको आठौँ परकम्प हो।”

सोमबारको परकम्पमा जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, रूकुम पूर्व, सल्यान, दाङ, कालिकोट, कैलालीसहित भारतका केही जिल्लामा समेत धक्का महसुस भएको थियो।

प्रभावित क्षेत्रमा राहतको अभाव

भूकम्प प्रभावित क्षेत्रमा अत्यावश्यक राहत सामग्रीहरू समेत नपाएको गुनासो स्थानीयहरुले गरिरहेका छन् ।

उक्त क्षेत्रमा भूकम्पबाट प्रभावित स्थानीयवासीहरूले आफूहरू पुनर्स्थापना र राहतको पर्खाइमा रहेको बताएका छन्।

शुक्रवारको भूकम्पमा परेर कुल १ सय ५३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। तीमध्ये ८३ जना महिला र ७० जना पुरुष रहेका छन्।

कुल ३ सय ३८ जना घाइते भएकामा २ सय ४३ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएका छन् भने ९५ जना अझै उपचाररत छन्।

यसअघि सरकारले भूकम्पमा परी १ सय ५७ जनाको ज्यान गएको बताएको थियो।

तर केही मृतकको सङ्ख्या दोहोरिन गएकोले सच्याउँदा १ सय ५३ देखिएको अधिकारीहरूले बताएका छन्।

भूकम्पबाट भएको भौतिक क्षतिको वास्तविक विवरण आउन अझै केही समय लाग्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता खड्काले बताउनुभयो।

नेपाल प्रहरीले आइतवार साँझ उपलब्ध गराएको विवरण अनुसार करिब एक हजारवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने करिब २,९०० घरमा आंशिक क्षति पुगेको छ।

 

 

 

Share Now

Leave a comment.