काठमाडौँ, ३ मङ्सिर : चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो ।
हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा कप्तान इन्दू बर्माले १२ रन बनाइन् ।
बलिङतर्फ जापानकी अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले एक एक विकेट लिइन् ।
एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन बनायो । जापानका लागि अकरी निशीमुराले २९, हिनासे गोटोले १६ र अहिल्या चण्डेलले ११ रन बनाइन् ।
बलिङतर्फ नेपालकी सङ्गिता राई, इन्दू बर्मा, सीता राना मगर, खुशी डङ्गोल र सोनी पाख्रिनले एक एक विकेट लिइन् ।
महिला टि–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी भएका थिए ।
तान्जानिया र हङकङबीच उपाधिका लागि आज ११ः४५ बजे खेल हुँदै छ ।
यो चतुष्कोणीय टी २० प्रतियोगिताले नेपाली महिला क्रिकेट टिमको क्षमता अभिबृद्धि गर्न आवश्यक रहेको प्रणाणित गरेको छ । महिला क्रिकेटमा अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय, जिल्ला स्तरीय प्रतियोगिताहरु आयोजना गरेर खेलाडीहरुको क्षमता अभिबृद्धि गर्न सकिएन भने महिला क्रिकेटको गति उभो लाग्ने देखिदैन ।
तान्जानिया र हंगकंग संगको खेलमा नेपाली टिमले १०० रन पुर्याउन नसक्नुले ब्याटरहरुको खस्कदो स्तरको मात्र प्रतिबिम्बित गरेको छैन, प्रतिस्पर्धीहरुको विकेट लिने मामलामा पनि नेपाली महिला बलरहरु चुकेका छन् । फिल्डिड.मा पनि सुधारको त्यतिकै खाँचो छ ।महिला क्रिकेटमा कप्तानको परिवर्तनमात्र पर्याप्त देखिएन । प्रशिक्षक र प्रशिक्षणमा पनि ध्यान दिनै पर्ने देखियो ।


















