काठमाडौं, ४ मंसिर । अर्थतन्त्र सुधारका उपाय खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाउनुभएको छ । आज ४ बजे प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंकलगायतसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार आजको बैठक अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रका सुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने निर्णयका विषयमा केन्द्रित हुने बताइएको छ ।
गत केहि हप्ता अघि प्रधानमन्त्री दाहाल अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय संयन्त्र बनाउन तयार हुनुभएको थियो ।
तनहुँमा १ मंसिरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मंसिर ४ गते अर्थतन्त्र सुधार्न वृहत् बैठक बोलाएको बताउनुभएको थियो।
उहाँले अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुनुका साथै बैठकले ठोस प्याकेज घोषणा गर्ने र अर्थतन्त्रमा सुधार ल्याउने घोषणा गर्नुभएको थियो।


















