काठमाडौं, ४ मंसिर। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने बताउनुभएको छ ।
सोमबार काँग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा लगानी बिस्तारै बढ्दै गइरहेको बताउदै चालु आर्थिक बर्षमा भूकम्प पछिको सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने दाबी गर्नुभयो।
उहाँले विदेशी पर्यटकहरूको कारण अर्थतन्त्र चलायमान बन्ने र आर्थिक गतिविधिहरू बिस्तारै बढ्दै जाने बताउनुभयो । उहाँले अर्थतन्त्रका सूचकहरू सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान बन्ने उल्लेख गर्नुभयो। अर्थमन्त्री डा. महतले अर्थतन्त्र थप चलायमान बनाउन विज्ञहरूसँग थप सुझाव सल्लाह लिएर अघि बढ्ने पनि बताउनुभयो ।


















