Prakash Adhikari November 27, 2023

काठमाडौं, ११ मंसिर । नेपाल वायुसेवा निगमले विभिन्न अध्ययन समितिले दिएको सुझाव अनुसार दुर्गम क्षेत्र उडान गर्ने ट्वीन ओटर विमान खरिद गर्न लागेको जानकारी दिएको छ ।

निगमले आइतबार प्रेस विज्ञप्ति जारी गरी दुर्गम क्षेत्रका लागि छोटो तथा अवतरण रुट (स्टल) मा उड्ने विमान खरिद गर्न लागेको जानकारी दिएको हो ।

निगमले खरिद पारदर्शी बनाएर विमान किन्न लागेको जिकिर गरेको छ । विमान किन्न तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनबाट सहमति लिएर निगमले सार्वजनिक खरिद ऐनबमोजिम कात्तिक ५ गते सार्वजनिक माध्यमबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।

प्रेस विज्ञप्तिमा निगमको सुधारका लागि बनेका अहिलेसम्मका आयोग, अध्ययन समिति र अध्ययन प्रतिवेदनहरुले समेत बजारमा राष्ट्रिय ध्वजावाहकले आफ्नो उपस्थिति देखाउन तत्काल दुर्गम क्षेत्र उड्ने विमान थप्न आवश्यक छ भनेको आधारमा नयँ जहाज किन्न लागेको उल्लेख गरिएको छ ।

निगमले गठन गरेको १० वर्षे बिजनेस प्लान उपसमितिले ४ वटा, एकीकृत आन्तरिक व्यापार योजनाले ६ वटा, एकीकृत व्यापार उपसमितिले ४ वटा र पछिल्लो एकीकृत व्यापार समितिले ४ वटा विमान किन्न दिएको सुझावका आधारमा ३ वटा दुर्गम क्षेत्र उड्ने विमान किन्न लागेको निगमको भनाइ छ ।

निगमले ३ वटा दुर्गममा उड्ने विमान ६ ६ महिनाको अन्तरमा ल्याउने भएको छ । यसका लागि सम्पूर्ण रकम एकैमुष्ट तिर्ने नभई पटक पटक तिर्दै जाने र त्यसको व्यवस्था आन्तरिक स्रोतबाटै गर्ने जानकारी विज्ञप्तिमा दिइएको छ ।

निगमले दैनिक व्यवसाय सञ्चालन गर्न र दुर्गम भेगका जनतालाई सेवा दिन विमानको उपलब्धता अपरिहार्य भएको बताएको छ ।

निगमले अर्थ मन्त्रालयको प्रतिनिधिको सुझाव सहितको राय र बोर्डमा प्रतिनिधित्व गर्ने अन्य ६ जना सञ्चालकको निर्णयबाट विमान खरिद गर्ने लागेको बताएको छ । बहुमतबाट भएको निर्णय प्रक्रियाअनुसार नै विधिसम्मत टेण्डर आह्वान भएको निगमको भनाइ छ ।

Share Now