उत्तरकाशी(उत्तराखण्ड,भारत), १३ मंसिर(बीबीसी) । भारतको उत्तराखण्ड उत्तरकाशीको सिल्क्यरास्थित एउटा निर्माणाधीन सुरुङमा १७ दिनदेखि थुनिएका सबै ४१ कामदारलाई जीवितै उद्धार गरेर बाहिर निकालिएको छ।
सुरुङबाहिर हर्षोल्लासपूर्वक फूलमालाले उनीहरूलाई स्वागत गरिएको थियो। केही तस्बिरहरूमा उनीहरू भावविह्वल भएको पनि देखिएको थियो।
उद्धारलगत्तै उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका ती व्यक्तिहरूलाई भेट्नुभएको छ ।
पाङ्ग्राजडित स्ट्रेचरमा राखेर उनीहरूलाई तीन फिट चौडा पाइपबाट बाहिर निकालिएको थियो। उनीहरूमध्ये कोही पनि घाइते नभएको अधिकारीहरूले बताइएका छन्। सुरुङबाट निकालेपछि सबै जनालाई परीक्षणका लागि अस्पताल लगिएको छ।
सुरुङबाहिर ती कामदारका आफन्त, साथीहरू र स्थानीयवासी भेला भएका थिए। उनीहरूले आतिसबाजी गर्नुका साथै मिठाई पनि बाँडेका थिए।
गत नोभेम्बर १२ मा पहिरोका कारण सुरुङको प्रवेशद्वारमा ढुङ्गा र माटो थुप्रिएपछि ती कामदारअरू सुरुङभित्रै थुनिएका थिए।
सुरुङको प्रवेशद्वार बन्द भएलगत्तै उनीहरूसँग वाकीटकीमार्फत् सम्पर्क स्थापित भएको थियो। अर्को सानो पाइपबाट उनीहरूलाई अक्सिजन, खानेकुरा र पानी लगायतका अत्यावश्यक सामग्री सुरुङभित्र पठाइएको थियो।
फसिरहेका ती मजदुरहरू उक्त भत्किएको सुरुङ निर्माणमा संलग्न थिए। उद्धारकार्य बारम्बार अवरुद्ध भएको थियो।
उक्त सुरुङ भारत सरकारको चारधाम परियोजनाअन्तर्गत उत्तराखण्डको पहाडी भेगमा हिन्दू धर्मावलम्बीहरूका तीर्थस्थललाई जोड्न बनाउन थालिएको सडकको अङ्ग हो।




















