Prakash Adhikari December 4, 2023
काठमाडौं, १८ मंसिर । मनाड.देखि पश्चिमको हिमाली भेगमा हुम्लासम्म हिमपात भएको छ । हिमपातले जनजीवन कष्ठकर भएको स्थानीयहरुको भनाई छ । धानखेती थन्क्याएपछि हिमपात भएकोले आउँदो गहुँ, जौ र आलु बालीलाई भने जमिन उपयुक्त बनेको किसानहरुले बताएका छन् ।
मनाड.मा बाहिर हिउँ घरभित्र पर्यटक
मनाङ भारि हिमपातले सेताम्मै भएको छ । हिमपातको प्रतिकूल मौसमका कारण  मनाङ भित्रिएका पर्यटक घरभित्रै बस्न बाध्य भएका छन् ।
गतवर्ष बेमौसममा मात्रै हिमपात भएको थियो भने यसवर्ष समयमै हिमपात भएको छ । जनजीवन कष्टकर बने पनि किसानमा खुसी छाएको छ ।
ढोरपाटनमा हिमपात
बागलुङको उच्च हिमाली क्षेत्र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिनुभयो ।
“यसवर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो”, कँडेलले भन्नुभयो, “हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ । चिसो धेरै बढेको कारण जनजीवन कष्टकर बनेको छ  ।” हिमपातका कारण घोडा खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताउनुभयो ।
मुस्ताङमा पनि हिमपात
मुस्ताङमा यस याममा पहिलो पटक हिमपात भएको छ । सोमबार बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको सहायक बागलुङ प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
विहानैदेखि हिमपात भए पनि कार्यालयहरु सञ्चालन भएको उहाँको भनाइ छ । यातायताका साधान पनि निरन्तर चलिरहेका छन् । हिमपात भएपछि जनजीवन कष्टकर भए पनि किसान भने हर्षित भएका छन् । लामो समय वर्षा नहुँदा किसानका बाली सुक्न थालेका थिए ।
यो सिजनमा परेको पानीले बालीनाली राम्रो हुने स्थानीय इन्द्रमान गौचनको भनाइ छ । यसभन्दा अगाडि मौसम बदलिराखे पनि हिमपात हुननसकेको उहाँको भनाइ छ । विहानैदेखि परेको हिमपातले स्थानीयलाई कामधन्दा र पशुचौपायालाई दाना तथा घाँस खुवाउन समस्या भइरहेको गौचनले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “यस वर्ष पहिलो पटक हिउँ परेको छ, अहिले पनि निरन्तर परिरहेको अवस्था छ, यति बेला परेको हिउँले बालीनालीलाई निकै राम्रो गर्छ, लामो समयसम्म पानी नपर्दा लगाएका बाली पनि सुकेर मर्न थालेका थिए, अब सप्रिने भए ।”
मान्ममा हिमपात
कालीकोटको मान्ममा पनि आज बिहानैदेखि पानी परेपछि कालीकोटका किसान खुसी भएका छन् । कर्णालीका हिमाली जिल्लामा पानी र हिमपात सुरु भएपछि बाली सप्रिने आशामा किसान खुसी भएका हुन् ।
पानीसहित हिमपात पर्नु किसानका लागि निकै राम्रो भएको कालिकोट नरहरिनाथ गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रदीप बोहोराले बताउनुभयो । “गहुँ बाली छरेका बेला पानी परेकाले किसानका लागि निकै राम्रो भएको छ”, उहाँले भन्नुभयो ।
मान्मको तल्लो भू–भागमा पानी परेको छ भने उच्च क्षेत्रमा हिमपात सुरु भएको कालीकोट रास्कोट नगरपालिका–१ का धनिराम सिंम्खडाले जानकारी दिनुभयो ।
माथिल्लो मुगु र रारा क्षेत्रमा हिमपात
हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानमा यस वर्षको सुरुवाती हिमपात हुन थालेको छ । आइतबार रातिबाट बदली हुँदै गएपनि आज बिहानैदेखि उच्च भुभागमा हिउँ र बेँसीमा पानी पर्न सुरु गरेको हो ।
मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटन, कोइकी हिमाल मुगु र डोल्फु क्षेत्रमा हिमपात सुरु भएको डोल्फु गाउँका नेग्मा सेराव लामाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रमुख पर्यटकीय क्षेत्र रारा र मुर्माटपमा पनि बिहानैदेखि हिउँ पर्न सुरु भएको र चिसो असाध्यै बढेको छ ।
रारा घुम्न आएका पर्यटन हिमपात तथा पानीले हवाई र स्थलमार्ग बन्द हुनसक्ने भन्दै बिहानै यहाँबाट घरतर्फ जान तरखर गरेका रारा राष्ट्रिय निकुन्जका रेन्जर हिमाली खत्रीले जानकारी दिनुभयो । जिल्लाका अन्य क्षेत्र बुलबुले, सात ताल, दूधताल, चन्खेली, बाम, रिणिमोक्क्ष, खेस्मालिका, सोरुकोटमा पनि हिउँ पर्न सुरु गरेको खबर प्राप्त भएका उहाँले बताउनुभयो ।
सदरमुकाम गमगढीमा पानी पर्न सुरु गरेको छ । अत्यधिक पानी र हिउँका कारण सडक अवरुद्ध भई दैनिक उपभोग्य वस्तुका साथै अन्य निर्माण सामग्री अभाव हुन्छ कि भन्ने चिन्ता बढेको मुगु उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमल बुढा बताउनुभयो ।
पानी र हिमपात हुन थालेपछि हिउदे बाली गहँु, जौ र नाफल खेती राम्रो हुने, हिमाली यार्सा, जडीबुटी वृद्धि हुनुका साथै गुणस्तरको हुने भन्दै किसान, जडीबुटी व्यापारी खुसी भएका छन् ।
हुम्लामा  बिहानैदेखि हिमपात
हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।
    सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको छ भने जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको नाम्खा गाउँपालिका–६ स्थित हल्जी स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी लोकेश बोहराले बताउनुभयो ।
हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिकामा चिसो अत्यधिक बढेको स्वास्थ्यकर्मी बोहराले बताउनुभयो । हिमपात भएसँगै आवतजावतमा समेत कठिनाई भएको उहाँले बताउनुभयो ।
   आज विहानदेखि हिमपात भएसँगै अन्तरजिल्ला जोड्ने भए मात्रै यातायातको साधन हवाइसेवा पनि प्रभावित बनेको छ । जिल्ला बाहिर जाने यात्रु समेत सिमकोटमै रोकिएका छन् । बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीय लव परियारले बताउनुभयो । अहिलेसम्म सदरमुकाम सिमकोटमा चार इञ्चभन्दा बढी हिमपात भएको छ ।
यस वर्ष पहिलो पटक हिमपात भएको र यसले बालीलाई राम्रो गर्ने स्थानीयको भनाइ छ । जेठमा पाक्ने उवा, जौँ र गौँ बालीलाई यसपटक परेको हिउँले उत्पादनमा राम्रो गर्ने भएको छ । चिसोबाट बच्न यहाँका बासिन्दा, कर्मचारी, विद्यार्थीले दाउराको जोहो गर्दै आगो ताप्ने गरेको छ । चिसोबाट बच्न न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
Share Now