Prakash Adhikari December 5, 2023

काठमाडौं, १९ मंसिर  । अहिले नेपालीहरुले अष्ट्रेलियाको घरजग्गा व्यवसायको लागनीमा छलाङ मारेका छन् । पछिल्लो समय नेपालमा घरजग्गा कारोबार सुस्ताई रहेको बेला उता अष्ट्रेलियामा भने नेपाल घरजग्गा व्यवसाय गर्नेमा सातौं स्थानमा पुगेको हो ।

अष्ट्रेलियाको ट्रेजरी डिपार्टमेन्टले केहि दिन अगाडि सार्वजनिक गरेको वैदेशिक लगानी सम्बन्धी प्रतिवेदनका अनुसार अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीले ठूलो लगानी गरेको पाइएको छ । ट्रेजरी डिपार्टमेन्ट अष्ट्रेलियाको विदेश लगानी नियामक निकाय हो । प्रतिवदेन अनुसार २०२२ जुलाई १ देखि २०२३ जुन ३० सम्मको अवधिमा अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीहरुले २० करोड डलर लगानी गरेका हुन् । यो एक वर्षको अवधिमा अष्ट्रेलियाको घरजग्गा व्यवसायमा सातौँ ठूलो लगानी नेपालीहरुको रहेको प्रतिवेदनमा उल्लेख छ । चीन, हङकङ, भियतनाम, ताइवान, भारत र सिंगापुरपछि नेपालको ठूलो लगानी रहेको छ ।

अष्ट्रेलियाको घरजग्गा व्यवसायमा लगानी गर्ने प्रमुख १० राष्ट्रमा नेपाल पछाडी इण्डोनेसिया, बेलायत र मलेसिया रहेका छन् । पछिल्लो एक वर्षमा अष्ट्रेलियामा घरजग्गा कारोवारको लागि नेपालीले गरेको दुई सय ८१ वटा प्रस्ताव पास भएको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो तीन महिना (अप्रिल, मे, जुन)मा मात्रै अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीले १० करोड डलर लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । उक्त अवधिमा मात्र नेपालीहरुको घरजग्गा किन्ने ८८ वटा प्रस्ताव स्वीकृत भएको थियो ।

जुलाई १, २०२२ देखि जुन ३०, २०२३ सम्मको अवधिमा अष्ट्रेलियाको घरजग्गा व्यवसायमा सबैभन्दा बढी चीनले ३.४ अर्ब डलर लगानी गरेको छ । सोही अवधिमा हङकङले ६० करोड डलर, भियतनामले ४० करोड डलर, ताइवान र सिंगापुरले ३०/३० करोड डलर, इण्डोनेसिया, भारत, बेलायत, मलेसियाले २०/२० करोड डलर लगानी गरेका छन् ।

गत आर्थिक वर्ष सन् २०२१/०२२ मा अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीहरुले १० करोड डलर लगानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीको लगानी दुई गुणाले बढेको प्रतिवेदनमा उल्लेख छ ।(आर्थिक दैनिकबाट)

Share Now