Prakash Adhikari December 9, 2023

लण्डन(संयुक्त अधिराज्य), २३ मंसिर । गाजामा तत्काल युद्धविराम गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषदको प्रस्तावमा अमेरिकाले भिटो अर्थात् विशेषाधिकार प्रयोग गरेपछि प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले अमेरिकालाई युद्ध अपराधमा मिलीभगत गरेको आरोप लगाउनुभएको छ।

अब्बासले गाजामा भएको इजरायली हमलाहरूमा प्यालिस्टिनी बालबालिका, महिला र वृद्ध वृद्धामाथि भएको रक्तपातका लागि अब आफूले वासिङ्टनलाई जिम्मेवार ठहर्‍याउने बताउनुभयो।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा गाजामा युद्धविराम गर्ने प्रस्तावको विपक्षमा मतदान गर्ने अमेरिका एक मात्रै राष्ट्र हो।

सुरक्षा परिषद्‌का १५ मध्ये १३ देशहरूले संयुक्त अरब इमिरेट्सले अघि सारेको प्रस्तावको पक्षमा मतदान गरेका थिए। मतदान प्रक्रियामा यूके सहभागी भएन भने फ्रान्सले प्रस्तावको पक्षमा मतदान गरेको थियो।

सुरक्षा परिषद्‌का पाँच स्थायी सदस्य राष्ट्रमध्ये कुनै पनि देशले भिटो प्रयोग गरे प्रस्ताव पारित हुन नसक्ने व्यवस्था छ। अमेरिकाले यूएईको प्रस्ताव “असन्तुलित” र अवास्तविक भएको बताएको छ।

उसले प्रस्तावमा ‘बिनासर्त युद्धविराम’का लागि गरिएको अपिल र अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणको निन्दा नगरिएका कारण आफ्नो समर्थन नरहने बताएको छ।

अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १२०० जनाको मृत्यु भएको थियो।

अमेरिकी प्रतिनिधिले सुरक्षा परिषद्‌मा ,ूयो प्रस्तावले इजरायलले उक्त आक्रमण सहनुपर्ने मर्म बोकेको छ जसले आतङ्कलाई फेरि आफ्नो ठाउँ बनाउने र खडा हुने बाटो दिन्छ ” भनेका थिए ।

अमेरिकाले प्रस्तावको प्रक्रियालाई ‘हतारको’ भन्दै त्यसअघि ‘उचित सल्लाह’ नलिइएको बताएको छ।

अमेरिकी प्रतिनिधिले आफ्ना सिफारिसहरूलाई बेवास्ता गरिएको बताएका छन्।

प्यालेस्टाइनले भने अमेरिकी भिटोप्रति ूखेद जनाएर मात्रै नपुग्नेू बताएको छ।

ूलाखौँ प्यालेस्टिनीहरू जीवन मरणको दोसाँधमा छन्। ती हरेक जीवन पवित्र छन् र बाँच्नका लागि लायक छन्,ू उसले भनेको छ।

हमासका अधिकारीहरूले इजरायलले गरेको हमलामा १७ हजार १ सय ७७ जनाभन्दा बढी मारिएको बताएका छन्।

यसअघि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले इजरायललाई नागरिकहरूको सुरक्षाका लागि सावधानी अपनाउन आग्रह गरेका थिए।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले गाजामा स्थिति नियन्त्रणबाहिर जाने अवस्थामा रहेकोतर्फ ध्यानाकर्षण गराएका थिए।

गाजामा भोकमरीको चिन्ता

एकजना वरिष्ठ राष्ट्रसङ्घीय अधिकारीले गाजाका आधा मानिसहरू भोकमरीमा रहेको र प्रत्येक दश जनामध्ये नौ जनाले दैनिक रूपमा खान नपाइरहेको भन्दै चेतावनी दिएका छन्।

विश्व खाद्य कार्यक्रमका सहायक कार्यकारी निर्देशक कार्ल स्काउले गाजा पुग्नुअघि आफूले त्यस प्रकारको त्रास, भद्रगोल र निराशाको कल्पना नगरेको बताउनुभएको छ।

त्यहाँ लडाइँ चर्किरहँदा उहाँले आवश्यकताको सानो अंश मात्र खाद्यान्न पुगिरहेको बताउनुभयो। उहाँले त्यहाँको अवस्थाका कारण आपूर्तिहरू असम्भवप्रायः रहेको बताउनुभयो।

राष्ट्रसङ्घले इजरायलसँग सहायता सामग्री लैजानका लागि केरम सुलम नाका खोल्न छलफल गरिरहेको छ।

हाल गाजामा सहायता सामग्री पुर्‍याउनका लागि इजिप्टतर्फको रफाह नाका मात्र खुला छ।

इजरायली ेसेनाले एक बन्धक मारको हमासको दाबी

हमासले बन्धक बनाएका एक जना व्यक्तिलाई इजरायली सेनाले मुक्त गर्ने प्रयास गरेका बेला ती व्यक्ति मारिएको हमासको सैनिक इकाइले दाबी गरेको छ।

हमासले खिचेको दाबी गरिएको एउटा भिडिओ सार्वजनिक गर्दै हमासले ती इजरायली बन्धकको नाम भने सार्वजनिक गरेको छैन।

भिडिओको क्याप्सन अरबी भाषामा देखिएको छ र त्यसमा बन्धक बनाइएका व्यक्तिलाई सकुशल मुक्त गर्न “असफल भएको” इजरायली सेना त्यहाँबाट “तत्कालै भागेको” दाबी गरिएको छ।

हमासले इजरायली डिफेन्स फोर्सले ती बन्धक भएको ठाउँसम्म पुग्न एम्बुलेन्सको प्रयोग गरेको छ। बीबीसीले भिडिओको आधिकारिकता पुष्टि गरेको छैन।

Share Now