Prakash Adhikari December 11, 2023

शरद के.सी./ बीबीसी न्यूज नेपाली

काठमाडौं, २५ मंसिर । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले प्रधानमन्त्रीको मुख्य सल्लाहकारको भूमिका निर्वाह गर्न असमर्थ भएपछि राजीनामा दिएको बताउनुभएको छ।

आफूले दिएको राजीनामाबारे मौन रहनुभएका गजुरेलले बीबीसी न्यूज नेपालीसँगको कुराकानीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा नमिलेको खुलाउनुभयो ।

कुरा नमिल्ने अवस्था हालसालै आएको बताए पनि उहाँले समय भने खुलाउनुभएन।

्र“पछिल्लो समयमा (कुरा नमिलेको) हो, खास विवाद त होइन। मैले गम्भीर रूपमा उठाएका कुराहरू प्रधानमन्त्री र गृहमन्त्रीले गम्भीरतापूर्वक लिनु भएन।”

नेता गजुरेलका अनुसार राजीनामाको विन्दुसम्म आइपुग्न एउटा घुम्तीले काम गरेको छ।

आफ्नो कुरा नसुनिएपछि त्यो घुम्ती आइपुगेको बताउँदै गजुरेलले भन्नुभयो
, “खास एउटा मोड आयो त्यो कुरामा हामी एक ठाउँमा भएनौँ। अनि म त्यो भूमिकाबाट अलग भएँ।”

तीन सम्भावना र गजुरेलको हाँसो
प्रधानमन्त्रीले गत वर्ष माघ ९ गते हरिबोल गजुरेललाई आफ्नो मुख्य सल्लाहकार नियुक्त गर्नुभएको थियो। गजुरेलले मङ्सिर २० गते राजीनामा दिनुभएको हो।

“भोलि विभिन्न प्रश्नहरू उठ्छन्, त्यसको जबाफ दिनुपर्छ,” नेता गजुरेलले भविष्यमा सम्भावित विवादको डर लागेको सङ्केत गर्दै भन्नुभयो, “त्योभन्दा राम्रो कुरा, विषयवस्तु स्पष्ट पारेर छोडेपछि सम्बन्ध पनि सहज बनिरहने भयो।”

माओवादी नेता गजुरेलले त्यसलाई नीतिगत विषय भन्नुभएको छ। त्यसबारे बीबीसीले तीन सम्भावनाबारे जिज्ञासा राखेको थियो।

के नेपाली कांग्रेससँग सरकार चलाएर चाहेको जस्तो काम गर्न सकिन्न भन्ने निचोड हो ?
“होइन। त्यससँग सम्बन्धित छैन।”

समाजवादको लक्ष्य प्राप्त गर्न अब वामपन्थी सहकार्य गर्न आवश्यक छ भन्ने हो?
“अहिलेको सन्दर्भमा त्यो पनि होइन।”

त्यसो भए सरकार भ्रष्टाचार नियन्त्रणमा दृढ बन्न सकेन बरु कतिपय सन्दर्भमा त्यसमा उसले मलजल गर्‍यो भन्ने ठम्याइ हो?

उहाँ हाँस्नुभयो, “अब तपाईँले अर्थ त जे लगाए पनि भयो।”

उहाँ आफूले सरकारलाई सफल बनाउन धेरै मेहनत गरेको ठान्नुहुन्छ।

त्यसमा आफूलाई गर्व रहेको उल्लेख गर्दै नेता गजुरेलले भन्नुभयो, “तर पछिल्ला दिनहरूमा हामीले सोचे जस्तो भने जस्तो नहुँदा केही समस्याहरू आए।”

प्रधानमन्त्री कसको घेरामा हुनुहुन्छ?

सरकारको नेतृत्व गर्ने पार्टी र नेताहरूमाथि बिचौलिया र परिवादको घेरामा परेको आरोप लाग्ने गर्छ।

प्रचण्ड नेतृत्वको सरकारमाथि पनि त्यो प्रश्न पछिल्ला दिनहरूमा जोडदार रूपमा उठ्न थालेको पाइन्छ।

केही समयअघि प्रधानमन्त्रीकी छोरीमाथि लगाइएको आरोप प्रधानमन्त्रीको सचिवालयले अस्वीकार गरेको छ।

गजुरेलले पनि बिचौलिया वा परिवारका सदस्य हाबी भएका कारण आफू निस्किएको कुरा स्वीकार गर्नुभएन।

आफ्नो सल्लाह बेवास्ता गरिएको सन्दर्भ उल्लेख गर्दै उहाँले भन्नुभयो “सल्लाहकारको रूपमा मेरो कुरा सुन्नैपर्ने बनाएको थिएँ, नसुनिएपछि अलग भएँ।”

उहाँले आफूले प्रधानमन्त्रीसँग उठाएको ‘नीतिगत’ विषय राजीनामा पत्रमा पनि उल्लेख गरेको जानकारी दिनुभयो। त्यो कुरा राजीनामा स्वीकृत भइसकेपछि खुलाउने उहाँको भनाइ छ।

माओवादी केन्द्रका एक नेताका अनुसार नेता गजुरेलले गृह मन्त्रालयमा पुगेर पनि केही विषय राख्नुभएको थियो।

तर त्यसबारे पनि उहाँले केही खुलाउन चाहनुभएन। “मैले पार्टीकै साथीहरूलाई समेत केही भनेको छैन, राजीनामा स्वीकृत भएपछि भनूँला,” गजुरेलले हाँस्दै कुराकानी टुङ्ग्याउनुभयो।

त्यसबारे प्रधानमन्त्रीका स्वकीय सचिव तथा माओवादी केन्द्रका नेता रमेश मल्लसँग प्रतिक्रिया लिने खोज्दा सम्पर्क हुन सकेन।

Share Now