Prakash Adhikari December 16, 2023

म्याट म्याग्रा / पर्यावरण संवाददाता

कोप २८ दुबाई(संयुक्त अरब इमिरेट्स), २९ मंसिर(बीबीसी) । जलवायु परिवर्तनसँग सम्बन्धित नराम्रा खबरका कारण हामी चिन्तित हुनु नौलो होइन। पत्रकारका रूपमा प्रत्येक दिन यो विषय पछ्याउने व्यक्ति भए पनि कहिलेकाहीँ यसले छटपटी निम्त्याउन सक्छ।

हामीले चिन्ता व्यक्त गर्नु स्वाभाविक हो। वैज्ञानिकहरूका अनुसार यो वर्षको १२ महिना एक लाख २५ हजार वर्ष यताकै सर्वाधिक तातो हुने छ र त्यसको प्रभाव पृथ्वीमा सबैतिर पर्ने छ।

दुबईमा भर्खरै जलवायु सम्मेलन कोप२८ सम्पन्न भएको छ। उक्त सम्मेलनमा विभिन्न देश र संस्थाका प्रतिनिधिहरूले छलफल पनि गरेका थिए।

जलवायु परिवर्तन र त्यसले पार्ने प्रभावबाट हामी आशावादी बन्नुपर्ने केही कारणहरू पनि छन्।

तीमध्ये केहीलाई यहाँ प्रस्तुत गरिएको छ।

१. भित्रभित्रै भइरहेको सौर्य क्रान्ति

यूकेका चोक तथा घरजग्गामा भित्रभित्रै शान्त रूपमा सौर्य विद्रोह चलिरहेको छ। यो वर्ष प्रत्येक महिना १७ हजार घरहरूले ब्रिटेनभरि सोलर प्यानल जडान गरेका छन्।

घाम खासै नलाग्ने ठाउँहरूमा पनि मानिसहरू आफ्ना घरका छानामा सिलिकन टाँसिरहेका छन्। नोर्थ वेल्सको आइल अफ एङ्गल्सीमा झन्डै आठ प्रतिशत घरहरू र एबर्डीनशरमा झन्डै छ प्रतिशत घरले सौर्य ऊर्जा प्राप्त गरिरहेका छन्।

के जलवायु परिवर्तन हुँदा फाइदा हुन्छरु इन्टरनेटमा फैलिएका केही भ्रमको तथ्यजाँच

यसो हुनुमा लागत प्रमुख कारण देखिएको छ। अहिले बिजुलीको सबैभन्दा सस्तो स्वरूप सौर्य ऊर्जा देखिएको छ र कतिपयका अनुसार यो इतिहासकै सबैभन्दा सस्तो बिन्दुमा छ।

ब्लूमबर्गएनईएफसँग आबद्ध सोलरविज्ञ जेनी चेजका अनुसार मानिसहरूले मिलाएर राख्नुपर्ने खालका सोलर प्यानलहरू मात्रै नभई बार्दलीमा राख्न मिल्ने सोलर पनि जडान गरिरहेका छन्।

“तपाईँ आफ्नो सोलर मोड्यूल कौसीमा वा बगैँचामा जहाँसुकै राख्नुहोस्, त्यसले घाम लागेको समयमा तत्कालै तपाईँको घरको माग धान्न सक्छ।”

“त्यो ग्रिडमा पनि जाँदैन। त्यसको लागि दर्ता पनि गर्नुपर्दैन। त्यो तपाईँले प्रयोग गर्ने ऊर्जाको थोरै बचत मात्रै हो।”

संसारमा नै त्यो खालको अभ्यास देखिएको छ। चीनले यो वर्ष मात्रै अमेरिकाले विगत तीन दशकमा जडान गरेकोभन्दा बढी सौर्य प्यानल जोडेको छ।

सूर्यको ऊर्जा सुरक्षित पृथ्वी का लागि उपयोगी हुने आशा बढेको छ।

२.आफ्नो खर्च आफैँ उठाउने विद्युतीय सवारी

अहिले यूकेमा विद्युतीय कार किन्ने कुरा सर्वाधिक कुराकानी हुने विषयमध्ये पर्छ।

बिक्री बढिरहेको छ। सन् २०२३ मा बिक्री गरिएका नयाँ सवारीसाधनमध्ये १८ प्रतिशत ब्याट्रीबाट चल्ने खालका सवारीसाधन थिए।

चाँडै विद्युतीय सवारीसाधनले घर वा राष्ट्रिय ग्रिडमा बिजुली पठाउन सक्छ

तर उच्च मूल्य र विद्युतीय सवारीसाधनको क्षमता अहिलेका वास्तविक अवरोध हुन्।

तर नयाँ प्रविधिले त्यो अवधारणालाई बदलिरहेको छ र त्यसले विद्युतीय सवारीसाधनलाई मितव्ययी बनाएको छ।

यो अवधारणालाई भिअकल टू ग्रिड (भीटूजी०) भनिन्छ र यो किटले तपाईँको कारबाट घर र राष्ट्रिय ग्रिडसम्म ऊर्जा ल्याउन वा पठाउन मिल्छ।

ऊर्जा सस्तो भएको समयमा कारलाई चार्ज गर्ने र महँगो भएका बेला त्यसलाई बिक्री गरी नाफा लिने उद्देश्य राखिएको थियो।

कारहरूको ९५ प्रतिशत समय रोकिएर बस्ने भएकाले तिनले सानो चारचक्के व्यापारीको भूमिका खेल्न सक्छन्।

वायु र घामबाट नवीकरणीय ऊर्जा थप्ने प्रक्रियामा रहेका राष्ट्रिय ग्रिडहरूका लागि यो अझ महत्त्वपूर्ण हो।

आफ्नै सोलर प्यानलबाट कार चार्ज गर्दा निःशुल्क प्राप्त हुने यो ऊर्जा राम्रो नाफा हुने गरी बिक्री गर्न सक्ने परीक्षणहरूले देखाएका छन्।

३. ठूला ब्याट्रीमा लगानी

यूकेभरि ठूला क्षमताका ब्याट्री केन्द्रहरूको विस्तार द्रुत गतिमा भइरहेको छ।

बकिङ्कमशरमा मैले भ्रमण गरेको एउटा त्यस्तो केन्द्र जम्मा १० महिनामा तयार भएको थियो। त्यसले तीन लाख घरमा दुई घण्टा बिजुली दिन सक्छ र त्यो युरोपको ठूलोमध्येमा पर्छ।

यो तहको भण्डारणको लागत कम हुँदै गएको छ र विज्ञहरूले यसै दशकको अन्त्यसम्ममा यूकेका एक करोड ८० लाख घरमा विद्यूत् आपूर्ति गर्न सक्ने ब्याट्रीहरू हुने ठानेका छन्। त्यो वृद्धिको दर अभूतपूर्व हो।

विज्ञहरूका अनुसार विद्युत् उत्पादनमा कार्बन उत्सर्जनको मात्रालाई नेट जीरोमा ल्याउनलाई ब्याट्रीहरूको भूमिका प्रमुख हुन्छ।

“यदि तपाईँसँग भण्डारण छैन भने तपाईँले निश्चित मात्राको नवीकरणीय ऊर्जा मात्रै प्रयोग गर्न पाउनुहुने छ,” हार्मोनी एनर्जीका प्रमुख कार्यकारी पिटर क्याभनाले बीबीसी न्यूजलाई भन्नुभयो। उहाँको कम्पनीले ठूलो परिमाणको ब्याट्रीहरू यूके र युरोपमा जडान गर्दै छ।

उहाँले भण्डारणको विधि अपनाउँदा त्यसले नवीकरणीय ऊर्जाको हिस्सा बढाउन सहज बनाउने बताए। त्यसले नेट जीरोसम्म पुग्न सहज हुने भन्दै शत प्रतिशत नवीकरणीय ऊर्जाको ग्रिडलाई पनि सम्भव तुल्याउने उहाँले बताउनुभयो।

४. न्यायालयको भूमिका

अदालतहरूबाट आएको स्पष्ट दृष्टिकोण पनि जलवायु परिवर्तनबारे उत्साहित हुनुपर्ने अर्को कारण हो।

अबको १२ महिनामा कैयौँ जलवायुसम्बन्धी मुद्दाहरूमा निर्णय हुँदै छ। न्यायाधीशहरूले जुनसुकै ढङ्गले निर्णय दिए पनि अदालतको आदेशमा के वैधानिक हो र तापक्रम बढाउन को जिम्मेवार छ भन्ने निर्णय आउने छ।

जलवायु परिवर्तनसम्बन्धी इतिहासकै ठूलो कानुनी लडाइँ अमेरिकामा चलिरहेको छ। त्यहाँ ओरिगनको मल्ट्नोमा काउन्टीले कैयौँ तेल र ग्यास उत्पादकहरूविरुद्ध सन् २०२१ मा भीषण गर्मी गराएको भन्दै ५२ अर्ब डलर क्षतिपूर्ति मागसहित मुद्दा दायर गरेको छ।

यदि उनीहरूले जितेको खण्डमा त्यसको ठूलो कानुनी र वित्तीय प्रभाव हुने छ। त्यसले जीवाश्म इन्धन उत्पादन गर्ने दजर्नौँ कम्पनीहरूले पनि त्यस्तै चुनौती सामना गर्नुपर्ने अवस्था आउन सक्छ। त्यो विगतमा ठूला सुर्ती उद्योगले भोगेको अदालती सङ्घर्षजस्तै हुन सक्छ।

यी मुद्दाहरूमा संलग्न एक वकिल जेफरी सिमनले यसअघि टेक्सस राज्यमा ओपिओइडविरुद्धको देवानी मुद्दामा ठूलो क्षतिपूर्ति दिलाएका थिए।

उहाँले जलवायु परिवर्तनका असर रोकथाम क्रियाशीलतामा शक्तिशाली साधनका रूपमा उदाइरहेका अदालतहरूले जीवाश्म इन्धन उत्पादकहरूको आर्थिक सामर्थ्यमा प्रहार गर्न सक्ने बताउनुभयो।

उहाँले बीबीसी न्यूजसँग भन्नुभयो, “विपक्षीहरूलाई आफ्नो उत्सर्जन कम गराउने कुरा अमेरिकी देवानी न्याय प्रणालीको पहुँचमा छैन तर उनीहरूले पुर्‍याएको क्षति र गरेको गलत व्याख्या जसले यी समस्यासँग जुध्न गर्नुपर्ने अनुकुलनमा विलम्ब गर्‍यो, त्यसका लागि उत्तरदायी बनाउने कुरा उनीहरूको शक्तिभित्रै पर्छ।”

५. जब आशा र इतिहासबीच मेल हुन्छ‘

जलवायुबारे उत्साहित हुनुपर्ने मेरो पाँचौ आधार भनेको इतिहास हो।

यो चुनौतीलाई ऐतिहासिक दृष्टिकोणबाट हेर्दा त्यसले छोटो अवधिमा नै कति धेरै प्रगति भयो भन्ने देखाउँछ।

आठ वर्षअघि मात्रै प्यारिस जलवायु सम्झौतामा हस्ताक्षर भएको थियो। त्यस बेला त्यो महत्त्वपूर्ण दस्तावेजमा कोइला, तेल र ग्यासको कतै पनि चर्चा थिएन।

यी हाम्रो पृथ्वीमा तापमान वृद्धि गराउने ग्यासका प्रमुख स्रोत हुन्।

कोप २८ मा विश्वभरिका वार्ताकारहरू भेला हुँदा यी इन्धनको प्रयोग कुनै स्वरूप वा आकारमा यसै शताब्दीमा अन्ततः रोक्नेमा सहमति हुन सक्ने वास्तविक आशाहरू व्यक्त भएका छन्।

त्यसले जलवायु परिवर्तनको मूल कारणलाई सम्बोधन गर्न र हाम्रो सबैभन्दा ठूलो सामूहिक जोखिमसँग पराजित गर्ने अवसर विश्वसँग छ।

Share Now