गण्डकी, २६ मङ्सिर : नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरा–१७ रातोपैहास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आयोजित आठौँ पर्वतीय महोत्सव सम्पन्न भएको छ ।
पाँच दिनसम्म सञ्चालित महोत्वसमा विशेष गरी जलवायु परिवर्तनको कारण बदलिँदो हिमाल र हिमाली जनजीवनका बारेमा चिन्तन गरिएको थियो । गण्डकी प्रदेशका अर्थमन्त्री जितबहादुर आलेमगरले महोत्सवको समापन समारोहमा पछिल्लो समय बढ्दो जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र प्रभावित भएको बताउनुभयो ।
पूर्वमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य पञ्चराम गुरुङले पर्वतीय सङ्ग्रहालय हिमाल र हिमालीको बारेमा अध्ययन अनुसन्धान गर्ने जीवन्त उदाहरण भएको उल्लेख गर्दै यसलाई परिचित गराउन आगामी दिनमा महोत्सवलाई थप प्रभावकारी बनाउनुपर्नेमा आवश्यकता औँल्याउनुभयो ।
नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष एवं पर्वतीय सङ्ग्रहालयका संयोजक ठाकुरराज पाण्डेले नेपालमा पर्वतीय पर्यटन बढाउन महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह भएको बताउनुभयो ।
नेपाल पर्वतारोहण सङ्घका प्रमुख कार्यकारी अधिकृत तथा महोत्सवका संयोजक जिनेश सिन्दुराकार र सहसंयोजक शेषकान्त शर्माले एकै स्थानबाट पर्वत र पर्वतीय जीवनशैलीबारे अध्ययन गर्न महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।
जलवायु परिवर्तनको असर हिमालमा धेरै
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर आलेमगरले जलवायुु परिवर्तनको असर हिमाललाई परेको बताउनुुभएको छ ।
अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घद्वारा आयोजित आठौँ पर्वतीय महोत्सवको समापन समारोहमा उहाँले नेपालको परिचय नै हिमालसँग जोडिएको र जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परिरहेको बताउनुुभयो । जलवायु परिवर्तनमा नेपालको दोष नभए पनि त्यसको प्रतिकूलताको असर भोग्नुपरेको उल्लेख गर्दै उहाँले हिमाल र हिमाली संस्कृति जोगाउनुपर्नेमा जोड दिनुुभयो ।
हिमाल हाम्रा सम्पत्ति भएको चर्चा गर्दै मन्त्री आलेमगरले हिमालले नै नेपाललाई विश्वमाझ चिनाएको बताउनुुभयो । नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले नेपालमा पर्वतीय पर्यटन बढाउन र त्यसको महत्व बुझाउन महोत्सव आयोजना गरिएको बताउनुुभयो । हिमाल र पदयात्राका लागि मुख्य प्रवेशद्वार बनाउन महोत्सव गरिएको उहाँले बताउनुुभयो ।
नेपाल पर्वतारोहण सङ्घका प्रमुख कार्यकारी अधिकृत तथा महोत्सवका संयोजक जिनेश सिन्दुराकारले पोखरास्थित पर्वतीय सङ्ग्रहालयमा वर्षेनी महोत्सवसँगै वार्षिक क्यालेन्डर नै बनाएर कार्यक्रम बनाएर लैजाने योजना रहेको जानकारी गराउनुुभयो ।
महोत्सवका सहसंयोजक शेषकान्त शर्माले पर्वतीय महोत्सवलाई पर्वतीय जीवनशैलीबारे बुझ्ने ज्ञानको महोत्सवका रुपमा अगाडि बढाइएको बताउनुुभयो । शुक्रबारदेखि पाँच दिन चलेको महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्री प्रदर्शनीदेखि जलवायु परिवर्तनको असर लगायतका विषयमा बहस गरिएको थियो । उक्त अवसरमा पर्वतारोहण र पर्वतीय जनजीवनबारे वृत्तचित्रसहित कीर्तिमानी आरोहीको तस्बिर प्रदर्शनी गरिएको थियो । महोत्सव १० हजार जनाले अवलोकन गरेको सङ्ग्रहालयकी प्रमुख कार्यकारी अधिकृत निर्मला न्यौपानेले जानकारी दिनुुभयो ।महोत्सवमा छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत आदि कार्यक्रम पनि सञ्चालन गरिएको उहाँले बताउनुुभयो ।


















