Prakash Adhikari December 16, 2023
त्रिवेणी (रुकुम पश्चिम), २८ मङ्सिर : भूकम्प प्रभावित रुकुम पश्चिममा अस्थायी आवस निर्माणका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । यही मङ्सिर २४ गतेदेखि प्रभावित क्षेत्र आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी परिचालन गरिएको हो ।
पहिलो चरणमा आठबीसकोट नगरपालिकाको विभिन्न प्रभावित ठाउँमा ४० जना र सानीभेरी गाउँपालिकाको प्रभावित विभिन्न ठाउँमा ३५ जना गरेर जम्मा ७५ जना नेपाली सेना परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार अस्थायी आवास निर्माण गर्न आज  थप १५ जना नेपाली सेना परिचालन गरिएको छ । सशस्त्र प्रहरीको  समूह पनि आजदेखि  भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि परिचालन हुने उहाँले जानकारी दिनुभयो ।
“नेपाली सेनाको समूह मङ्सिर २४ गतेदेखि प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणमा खटिसकेको छ, सशस्त्र प्रहरीको टोली पनि आजदेखि परिचालन गरिँदैछ, सुरक्षाकर्मीको टोली परिचालन गरेपछि अस्थायी आवास निर्माणले तीव्रता पाउने हामीले अपेक्षा गरेका छौँ”, प्रजिअ बढुवालले भन्नुभयो ।
भूकम्प गएदेखि प्रभावित क्षेत्रको उद्धार राहतमा सक्रिय नेपाल प्रहरी भने निरन्तर प्रभावित क्षेत्रमा प्रहरी लागत सङ्कलनमा  खटिरहेको छ । नेपाली सेना तथा सशस्त्र प्रहरी पनि उद्धार र राहतसँगै अब अस्थायी आवास निर्माणमा परिचालन भएका हुन् ।
जिल्लाभर २५ हजार लाभग्राही यकीन भए पनि विवरण सङ्कलन जारी रहेकाले ३० हजार लाभग्राही पुग्ने जिल्ला प्रशासन कार्यालयले अनुमान गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले रुकुम पश्चिममा तीन हजार छ सय ४५ अस्थायी आवास निर्माण गरेको जनाएका छन् भने अझै हजारौँ अस्थायी आवास निर्माण हुन बाँकी छन् । कति अस्थायी आवास निर्माण भए कति हुन बाँकी छन् यसको विवरण भने जिल्ला प्रशासन कार्यालयमा स्थानीय तहबाट विवरण  आइसकेको छैन ।
अस्थायी आवास निर्माण गर्न लाभग्राहीलाई पहिलो किस्ता वापतको रु २५ हजारका दरले रु १९ हजार नौ सय ३४ घरधुरीलाई रु ४९ करोड ८३ लाख ५० हजार रकम स्थानीय तहको विपद् जोखिम न्यूनीकरण कोषमा पठाएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
Share Now