काठमाडौं, १ पौष । नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी वरिष्ठ नायब कार्यकारी निर्देशक नागेन्द्र साहलाई दिइएको छ।
चाटर्ड एकाउन्टेन्ट साह १५ वर्षदेखि निगमको अर्थ विभागमा कार्यरत हुनुहुन्थ्यो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साहलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको मन्त्री रमेश रिजालले जानकारी दिनुभएको छ।
निगमका कार्यकारी निर्देशक ई.उमेशप्रसाद थानीले मंसिर २६ देखि राजिनामा दिएपछि निगम कार्यकारी निर्देशकबिहीन छ। थानीले कार्यकाल सकिनु १५ महिनाअघि नै राजीनामा दिनुभएको थियो ।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रिजालले साहलाई निमित्तको जिम्मेवारी दिइएको बताउदै केही दिनमा नै नयाँ कार्यकारी निर्देशकका लागि आवेदन खुलाउने प्रक्रिया थालिने बताउनुभएको छ ।
खुला प्रतिस्पर्धाबाट छनोट गर्न समय लाग्ने भएकाले साहलाई निमित्तको जिम्मेवारी दिइएको मन्त्री रिजालले बताउनुभयो।
मन्त्रालयले निगमसँग निमित्तको जिम्मेवारी तोक्न गत शुक्रबार वरिष्ठ तीन कर्मचारीको नाम मागेको थियो। निगमले शुक्रबार नै वरिष्ठ नायब कार्यकारी निर्देशक नागेन्द्र साह, वीरेन्द्र गोइत र दीपक बरालको नाम पठाएको थियो।


















