Prakash Adhikari December 18, 2023

विदुर(नुवाकोट), २ पौष । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाली कांग्रेसलाई एक्लै चुनाव लडेर पनि जित्ने ढंगको बलियो संगठन बनाउन कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेस नुवाकोटको जिल्ला अधिवेशनलाई सदरमुकाम विदुरमा संबोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले यसपटक चुनावपूर्व भएको गठबन्धनको औचित्य पुष्टि गर्दै भन्नुभयो,हामी बलियो बन्नुपर्छ, पहिला एक्लै लड्दा चुनाव जित्छु भन्ने संगठन बनाउनुपर्छ। हामीले आफ्नो क्षमता वृद्धि गरौँ, एक अर्कोको खुट्टा नकाटौँ।’

उहाँले कम्युनिष्ट पार्टीहरुबीच कुनै किसिमको गठबन्धन बन्न नसकोस भनेर निर्वाचन पहिले गठबन्धन गर्नुपर्ने आवश्यकता भएको संकेत गर्दै भन्नुभयो, गठबन्धन हामीले आवश्यकताको सिद्धान्तमा गरेको हो । सबैको सहमतिमा गरिएको हो, सभापति एक्लैले गर्नुभएको होइन।

उहाँले महत्त्वाकाङ्क्षा पूरा गर्ने उद्देश्य मात्र लिएको राजनीतिक दल दिगो नबन्ने बताउदै भन्नुभयो ‘यो हामीले बुझिराखौँ, भ्रम पैदा गर्ने राजनीति दल दिगो हुँदैन। अप्ठ्यारो पर्‍यो भने, अधिकारमाथि आक्रमण भयो भने निरन्तर लागिरहने र धैर्यता भएको राजनीतिक दल नेपाली काँग्रेस हो भनेर आम नागरिकलाई हामीले बुझाउनुपर्छ ।’

उहाँले देशका लागि केही गर्नका लागि धैर्यता, जाँगर, समर्पण र इमानदारिता चाहिने बताउदै त्यो नेपाली काँग्रेसमा मात्र भएको दावी गर्नुभयो ।

डा. महतले पदमा हुँदा वा नहुँदा पनि आफूले जिल्लाको विकासमा योगदान दिइरहेको बताउनुभयो।

मन्त्री डा. महतले सामाजिक सञ्जालमा केही मानिसलाई गालीगलौज गर्न लगाएर दिगो राजनीति गर्न नसकिने पनि प्रष्ट पानुभयो ।

उहाँले अहिले देशको आर्थिक अवस्था सुधार भैरहेको पनि बताउनु भयो । उहाँले एनसेलको शेयर बिक्रीको सम्बन्धमा सरकारले छानविन थालेको बताउनुभयो ।

 

 

Share Now