Prakash Adhikari December 21, 2023

शरद केसी /बीबीसी न्यूज नेपाली

काठमाडौं, ५ पौष । संविधानमा व्यवस्था भएको धर्म निरपेक्षता र प्रदेश संरचनाविरुद्ध सार्वजनिक अभिव्यक्ति दिँने नेताहरुमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शङ्कर भण्डारीको नाम पनि जोडिदै आएको छ।

तर उहाँले आफ्नो दलका सबैजसो मुख्य नेताहरू सहभागी कार्यक्रममा मङ्गलवार अनौठो अभिव्यक्ति दिनुभयो, ूमैले पाएको सूचना यदि गलत छैन भने आगामी चैतभित्र संविधान खारेज हुन सक्छ।ू

सांंसद भण्डारीले त्यस्तो अभिव्यक्ति दिएको कांग्रेसको गण्डकी प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवा र पदाधिकारीहरूसहित ठूला नेता सहभागी हुनुहुन्थ्यो। त्यो सूचना सुनाउनुअघि नेता भण्डारीले अप्रिय स्थिति आउने जोखिम औँल्याउनुभएको थियो।

संविधान कसरी खारेज हुन्छ ?

“तपाईँहरू धेरैलाई थाहा होला, म भन्दै छु साथीहरू नोट गरेर राख्नुहोस् , आगामी चैत महिनाभित्र जे पनि हुन सक्छ मुलुकमा,” नेता भण्डारीको भनाइ थियो।

पछिल्ला दिनहरूमा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना लगायतका माग गर्दै बेलाबखत प्रदर्शनहरू हुने गरेका छन्।

हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना भनेर माग गर्नेहरूको आकार र प्रभावभन्दा बढी नै चर्चा हुने गरेको कतिपय आलोचकहरू ठान्छन्।

‘व्यवस्थामाथि सम्भावित खतरा’ आउन सक्ने प्रमुख दलका मुख्य नेताद्वारा व्यक्त आशङ्काले त्यो थप चर्चामा रहेको बुझाइ पाइन्छ।

यही बेला राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि फागुनदेखि आन्दोलन गर्ने घोषणा गरेको छ।

प्रमुख तीन दलसहित कतिपय अन्य साना पार्टीहरू पनि गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताप्रति प्रतिबद्धताबाट पछि हटेका छैनन्।

राष्ट्रपतिदेखि प्रदेश र केन्द्र सरकार तथा संसद्‍मा उनीहरूकै नेतृत्व छ। यस्तो अवस्थामा संविधान कसले खारेज गर्न सक्छ, विदेशी शक्तितर्फ सङ्केत हो ?

“जसले २०४७ सालको संविधान खारेज गरे, तिनैले खारेज गर्न सक्छन्,” भण्डारीले प्रस्ट खुलाउनुभएन।

राष्ट्रपति संविधानका संरक्षक मानिन्छन्। नेता भण्डारीले पाएको सूचना अनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाटै संविधान खारेजीको घोषणा हुन्छ भन्ने हो ?

कांग्रेसलाई राप्रपाको बाटोमा लग्ने ?

उहाँको जवाफ थियो, “म त्यो भन्न सक्दिनँ, म त्यो भन्न चाहन्नँ पनि, तर वातावरण त्यो बाटोमा अग्रसर भइरहेको अनुभूति भएको छ र सङ्केतहरू देखिएका छन्।”

पूर्वमन्त्री भण्डारी सहितका केही नेताहरू कांग्रेसको आगामी महासमिति बैठकमा हिन्दूराष्ट्र पुनर्स्थापना र प्रदेश खारेजीको विषय उठाउने पक्षमा देखिन्छन्।

पोखराको कार्यक्रममा पनि भण्डारीले सभापति देउवालाई ती मुद्दाको नेतृत्व गर्न आग्रह गर्दै भन्नुभयो, “सभापतिजी राजनेता बन्नुहोस् र जनमतको नेतृत्व गर्नुहोस्।”

तर पहिलेदेखि नै त्यही मुद्दा उठाइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावमा सफलता प्राप्त गर्न सकिरहेको छैन।

कांग्रेसले त्यो विषय उठाउँदा राप्रपाकै अवस्थामा पुग्न सक्ने जोखिमबारे भण्डारीले भन्नुभयो, “यो नीति कांग्रेस पार्टीले बोक्नु र त्यसैलाई राप्रपाले अङ्गीकार गर्नुमा धेरै ठूलो भिन्नता छ।”

कांग्रेसले ‘जनता असन्तुष्ट रहेका मुद्दाको नेतृत्व गर्ने अवसर अरूलाई दिन हुन्न’ भन्ने उहाँको मत छ।

सूचना कति सत्य ?

केही समययता देशका विभिन्न भागमा धार्मिक र जातीय कुराहरू उठिरहेका छन्। केही ठाउँमा उग्रता पनि प्रकट भएको छ।

खासगरी हिन्दू राष्ट्र पुनर्स्थापनाको मुद्दालाई दक्षिणी छिमेकी भारतका धार्मिक संस्था र सङ्गठनले बल पुर्‍याइरहेको विश्वास नेपालमा कतिपयले गर्छन्। नेपालमा पनि फरक पार्टी, संस्था वा सङ्गठनमा आबद्ध भए पनि उक्त विचारका पक्षपातीहरूबीच सहकार्य रहेको र उनीहरू एक अर्काप्रति सहानुभूति राख्ने गरेको ठानिन्छ।

नेता भण्डारीको सूचना पनि त्यही वृत्तभित्रबाट आएको हुन सक्ने एक थरीको अनुमान छ।

महामन्त्री गगन थापाले चैत महिनापछि २०८० साल सकिनेभन्दा भण्डारीले सम्भावना औँल्याए जस्तो केही नहुने बताउँदै उहाँको सूचनालाई महत्त्व दिनुभएन।

त्यसबारे भण्डारीले टिप्पणी गर्नुभयो, “देशमा षड्यन्त्र हुँदै छ भनेर नेताहरूलाई सचेत गराइदिएको छु, गोप्य षड्यन्त्रको पर्दाफास गरेको छ, यसलाई गलत ढङ्गले बुझ्नेप्रति धेरै टिप्पणी गर्नु छैन।”

 

Share Now