Prakash Adhikari December 21, 2023

काठमाडौं , ५ पौष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई संसदीय समितिमा माफी माग्न आग्रह गरिएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहिबार बसेको बैठकमा राप्रपाका सांसद धवलशमशेर राणाले मन्त्री किरातीले द्वन्द्व मच्चाउने अभिव्यक्ति दिनुभएकोले उहाँले माफी माग्नु पर्ने माग राख्नुभयो ।

नेपाललाई युरोपेली युनियनले कालो सूचिमा राखेको र सोबाट हटाउने कार्यक्रमको बारेमा पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका पदाधकारीसंग जानकारी दिन आयोजित अन्तर्राष्ट्रिय समितिको बैठकमा सांसद राणाले मन्त्री किराती समक्ष सो माग राख्नुभएको हो ।

‘द्वन्द्व मच्चाउने अभिव्यक्ति दिनुभएको छ । यसमा तपाईंले माफी माग्नुपर्ने हो,’ सांसद राणाले बैठकमा मन्त्री किरातीलाई भन्नुभयो, ‘सरकारले तपाईंलाई के स्पष्टिकरण गर्नुपर्ने हो यो गर्नुहोला । समाजमा ठूलो द्वन्द्व फैलाउने कुरा गर्नुभएको छ । यसको जिम्मेवार सरकार र तपाईं हुनुहुनेछ ।’

मन्त्री किरातीले बुधबार राजधानीमा आयोजित क्रिसमस फेस्टिभल कार्यक्रममा क्रिश्चियन धर्मको विरोध गर्नु भनेको संविधानको विरोध गर्नु हो भन्दै विरोध गर्नेलाई हतकडी लगाउने अभिव्यक्ति दिनुभएको थियो ।

‘लोकतान्त्रिक गणतन्त्रमा पनि डरत्रास छ किः हामी कसैले डराउनुपर्ने स्थिति छैन । संविधानले दिएको अधिकारमा हामी बाँचेका छौं । टुँडिखेलमा गएर सबैले सुन्नेगरी हामी पनि यही देशका फूल हौं भन्नुहोला । राज्य छ तपाईंहरुको अभिभावक । कोही डराउनुपर्दैन ।’

मन्त्री किराँतीले भन्नुभयो,‘कसैको दायामायाले होइन, हजारौं शहीदको बलिदानले लेखेको संविधानको बगैँचामा तपाईंहरु एकथरि फूल हो । तपाईंहरुविना बगैंचाको शोभा हुँदैन । तीन करोड नेपालीमा लाखौं क्रिश्चियन भइसकेका छन् । क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो । संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने, जेलमा हाल्ने हो ।’

उहाँले विश्वमा ८५ प्रतिशतले धर्म मान्ने प्रसंग उठाउँदै त्यसमा क्रिश्चियनले ३० प्रतिशत हिस्सा ओगट्ने बताउनुभयो ।

मन्त्री किरातीले संबोधनको क्रममा भन्नुभयो, ‘कि अरु धर्मको चाडको पनि बिदा काट्नुपर्छ, कि यसको (क्रिसमसको) पनि पूरै दिनुपर्छ । कि सबैको काट्ने, कि यसको बिदा पनि पूरा दिने ।’

मन्त्री किराँतीले ‘नेपालमा जनयुद्ध गर्दा सत्रहजार मानिसहरु जिससजस्तै झुन्डिए, झुन्ड्याइएको प्रसंग उठाउदै भन्नुभयो,्रआजको धर्मनिरपेक्ष संविधान त्यसै अनुसार आएको हो । रगतले साटेर परिवर्तन आएको हो । यसलाई दुई चार हाप्सिला (फ्याउरा.) कराउँदैमा हटाउन सकिँदैन ।’

 

Share Now