Prakash Adhikari December 25, 2023
काठमाडौँ, ९ पुस । इसाई धमावलम्बीहरुको पर्वको रुपमा लिइने क्रिसमसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गर्नुभएको छ ।
 ‘क्रिसमस डे’ का अवसरमा उहाँले एक सन्देश दिंदै  यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनुभएको छ ।
राष्ट्रपति पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनुभएको छ ।
विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइने यस पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सक्ने बताउनुभयो ।
दया,दान र सेवामा उत्प्रेरित गराउने उपराष्ट्रपति यादवको विश्वास
उपराष्ट्रपति रामसहायप्रसाद यादवले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिनुभएको छ ।
उहाँले सम्पूर्ण इसाई धर्मावलम्बी, नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति यादवले ‘क्रिसमस डे’का अवसरमा जारी गर्नुभएको सन्देशमा  नेपालमा मनाइने अन्य पर्वहरु जस्तै प्रेम, हर्षोल्लास र एकजुटताका साथ मनाउने आनन्दमय सामाजिक र सांस्कृतिक उत्सव भएको उल्लेख गर्नुभएको छ । उहाँले नेपालमा बसोबास गर्ने विभिन्न समुदाय र सांस्कृतिक पहिचान भएकामा एकता र एकजुटताको भावनालाई बढावा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति यादवले भन्नुभयो, “यस पर्वले अन्य चाडपर्वमा जस्तै मानिसलाई दया, दान र स्वयंसेवालगायत कार्यका समावेश गराउँदै खुशी र सद्भाव फैलाउन प्रोत्साहित गर्दछ । यो अत्यन्तै सकारात्मक पक्ष हो ।” खुशी, हर्ष र जोसका साथ मनाइने यो पर्वले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, भाइचारा, बन्धुत्वभाव, मैत्रीभाव आदिलाई थप प्रगाढ, बलियो र सुदृद्ध बनाउन सहयोग पुग्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गर्नुभयो ।
उपराष्ट्रपति यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि अग्रसर र क्रियाशील हुनका लागि ‘क्रिसमस डे’ ले उत्प्रेरित गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
सामाजिक सद्भावलाई बलियो बनाउन सघाउनेः प्रधानमन्त्री
 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिनुभएको छ ।
 शुभकामना सन्देशमा उहाँले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्ने विश्वास लिएको बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले आज जारी गर्नुभएको सन्देशमा नेपालको संविधानले बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै मौलिक हकका रुपमा सुनिश्चित गरेको विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी राष्ट्रिय एकता प्रवद्र्धन गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ ।
२१औँ शताब्दीको भूमण्डलीकरणको आधुनिक युगमा देश, भूगोल, भाषा, संस्कृति र आस्थाका दृष्टिले सिङ्गो मानव जाति नै गहिरो अन्तर्घुलनतर्फ उन्मुख भइरहेको प्रधानमन्त्री दाहालले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ ।
प्रधामन्त्री दाहालले राष्ट्रिय एकता र धार्मिक सहिष्णुतासहितको नेपाली मौलिक साझा राष्ट्रिय संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षासहित क्रिसमस पर्वले सङ्कीर्ण घेराहरु तोडेर बृहत्तर राष्ट्रिय हित र मानव जातिको कल्याणका निम्ति सबैलाई प्रेरित गर्दै आएको बताउनुभएको छ ।
–––
Share Now