काठमाडौं, १२ पौष । नेपालका क्रिकेट स्टार सन्दीप लामिछानेविरुद्ध लागेको यौनदूराचारको मुद्दामा वरिष्ठ अधिवक्ता शम्भु थापा र रमण श्रेष्ठले सन्दीपका पक्षबाट बहस गर्नुहुने भएको छ ।
सन्दीप विरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि सुनुवाइ भइरहेको छ । मुद्दामा पीडिततर्फका वकिलले बहस सकेका छन् भने प्रतिवादी सन्दीपतर्फका कानुन व्यवासायीको बहस सुरु भैसकेको छ।
पीडिततर्फको बहस सकिएकै दिन बुधबार सन्दीपतर्फका वकिलले पनि बहस थालेका हुन्। आज पनि सन्दीपतर्फबाटै बहस जारी रहने काठमाडौँ जिल्ला अदालतले जनाएको छ।
आज सन्दीपका पक्षमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, किशोर सापकोटा, अधिवक्ता सरोजकृष्ण घिमिरेलगायतले बहस गर्दै हुनुहुन्छ।
बहस सकिए आजै नत्र शुक्रबारसम्म फैसला हुने सम्भावना छ।
जाहेरवाला किशोरीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँका न्यायाधिवक्ता सीताराम अर्याल र सहायक न्यायाधिवक्ता सुरबहादुर परियार तथा अधिवक्ताहरू मोहना अन्सारी, शान्ति रिजाल, आश्मा आचार्य, अनिता थपलिया, वरिष्ठ अधिवक्ता शशि अधिकारी, नारायण चौलागाईं, प्रतिमा कँडेल खरेल र लेखनाथ भट्टराईले बहस गरिसक्नुभएको छ।
२०७९ भदौ ५ गते राति सन्दीपले आफूमाथि यौनदूराचार गरेको जाहेरवाला किशोरीको दाबी छ।
जाहेरीमा पीडित नाबालिग रहेको दाबीसहित सन्दीपलाई १० देखि १२ वर्षसम्म कैदको माग गरिएको छ।
तर यो घट्नाका प्रारम्भिक बयान र हालसम्म सार्वजनिक भएका विवरणले सन्दीपलाई हनि ट्यापमा पारेर उनको खेलजीवन सिध्याउन राष्ट्रिय अन्तर्राष्ट्रिय गिरोह लागेको हो कि भन्ने पाइएको छ ।
पीडित भनिएकी किशोरीद्धारा क्लोजक्याम्पमा रहेका नेपाली राष्ट्रिय टीमका कप्तानलाई घुम्नजाने प्रस्ताव आउनु, दिनभरि घुमेपछि साँझ घर वा कोठा नजिक छोड्न खोज्दा संगै बस्ने प्रस्ताव गर्नु, होटलमा एकै रुममा बस्ने सहमति दिनु, होटल पस्दा नाइनास्ती नगर्नु, होटलमा शारीरिक संसर्ग भएको भए पनि होटलमा कम्प्लेन नगर्नु, बिहान राजीखुसी बिदा हुनुले किशोरी यौनावस्थामा पुगेको सहमतिमा शारीरिक सम्बन्ध कायम भएको प्रमाण दिन्छन् । तर, आफ्नो उमेर शारीरिक सम्बन्धका लागि कानूनले निर्धारित हदमा नपुगेको बताएर किशोरीले उनलाई फसाउन खोजेकी हुन् कि भन्ने पनि देखिन्छ । अन्यथा अन्नपूर्ण राणाको अंशसम्बन्धी विवादमा सर्वोच्च अदालतले सहमतिमा भएको यौनसम्बन्ध दण्डनीय नहुने फैसला गरेको छ । स्वेच्छाले शारीरिक सम्बन्ध राखेपछि उमेरको प्रमाण हेरेर उजुरी दिने उनको कृत्यले नै यो प्रकरण प्रायोजित भएको देखाउछ ।
सन्दीप क्यारेबियन प्रिमियर लिगमा सहभागी भएको बेलामा जाहेरी पारिनु, उनले नेपाल फर्कन्छु भन्दाभन्दै नेपाल प्रहरीबाट उनी विदेशमा छँदै रेडकर्नर नोटिस जाहेर गरिनु, उनलाई विदेशमा वा स्वदेशमा आफ्ना कुरा राख्ने अनुमति नदिनु, अदालतबाट समेत उनलाई पीडित तथा उनका परिवार र आफन्तसंग सम्पर्क गर्न बन्देज लगाएर यसको समाधान खोज्ने अदालतबाहिरको संभावनालाई बन्द गरिनु, नेपालले क्रिकेट वल्र्ड कप लिग २ र एशिया कपमा राम्रो गर्दै आएको परिप्रेक्ष्यमा अन्तर्राष्ट्रिय स्तरको खेलाडीलाई मानसिक दबावमा पारेर नेपाली क्रिकेटको उकालो यात्रामा रोक लगाउने दुस्प्रयास गरिनु जस्ता कोणबाट हेर्दा यो प्रकरण प्रायोजित भएको र यसका पछाडि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेको निश्कर्ष पनि निस्कन्छ ।
जे होस् पीडित पक्ष र आरोपित पक्ष दुवैले आफ्ना वकिलमार्फत इजलाससमक्ष सत्य, तथ्य र प्रमाणहरु पेश गरेकोले अदालतबाट विवेकपूर्ण फैसला आउने अपेक्षा सबैले गरेका छन् ।