काठमाडौं, १४ पौष । सरकारले बालकुमारी घटनामा मारिएका दुई जनाको परिबारलाई राहत स्वरुप १०–१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । शुक्रबार ललितपुरमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।
मन्त्रिपरिषद्को आकस्मिक बैठकको निर्णय सुनाउँदै सञ्चारमन्त्री रेखा शर्माले सरकारले मृतकका परिबारलाई १०( १० हजार रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो।
मन्त्रिपरिषद्को बैठकले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको जानकारी प्रवक्ता शर्माले दिनुभएको थियो।
उहाँका अनुसार प्रदर्शनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय भएको छ । यसका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई रकम निकासा गर्ने उहाँको भनाई थियो ।
मन्त्री शर्माका अनुसार भविष्यमा यस्ता घटना दोहरिन नदिन सुरक्षा संयन्त्रलाई सजग बनाउने निर्णय पनि भएको छ । यसका लागि छानबिन समितिको सुझावअनुसार सरकार अगाडि बढ्ने छ ।


















