Prakash Adhikari December 31, 2023

 

काठमाडौं, १५ पौष। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा शनिबार देशव्यापी प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ ।

आम नागरिकमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो ।

यही पौष १७ गतेदेखि ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १६ वर्ष पूरा भई १७औँ वर्षमा प्रवेश गर्दैछ ।

काठमाडौँमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरु, बैंक उच्च व्यवस्थापनसहित १ हजार ५ सयभन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

वित्तीय साक्षरता तथा बैंकिङ्ग शिक्षामूलक प्लाकार्ड तथा व्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरुले काठमाडौँको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै शहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौँ उपत्यकाबाहिर मुख्यमुख्य शहरहरुमा पनि शहरको मुख्य भाग परिक्रमा गरेका थिए ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटौ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय परिसूचकहरु अनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो ।

बैंकले ३ सय ५५ शाखा, ३ सय ७९ एटिएम, २ सय ७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्करबैदेशिक प्रतिनिधि कार्यालय सहित १ हजार १ सय भन्दाबढि सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकमा करिब ४ हजार कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकले ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

Share Now