Prakash Adhikari January 7, 2024

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), २२ पौष(बीबीसी) । उडान गरिरहेको समयमा अलास्का एअरलाइन्सको एक विमानको एउटा हिस्सा खसेपछि संयुक्त राज्य अमेरिकाको वायु सेवा नियामक निकायले केही बोइङ ७३७ म्याक्स ९ जेट विमानहरूको उडान तत्कालका लागि रोक्न आदेश दिएका छन्।

सङ्घीय उड्डयन निकाय एफएएले पछिल्लो सुपरिवेक्षणले उक्त मोडेलका १ सय ७१ वटा विमानहरूलाई असर पर्ने बताएको छ।

शुक्रवार ओरेगन राज्यबाट उडेको अलास्का एअरलाइन्सको विमानलाई आपत्कालीन अवतरण गराइएको छ।

युनाइटेड एअरलाइन्सले एफएएले गर्न भनेको निरीक्षण अफ्ना ७९ वटा बोइङ ७३७ म्याक्स ९ प्लेनमा सम्पन्न भएको बताएको छ।

आलास्का एअरलाइन्समा के भयो ?

केही विमानहरूलाई ‘उडान गर्न नदिनु’ भन्ने आदेशले करिब ६० वटा उडान रद्द हुनसक्ने उक्त वायुसेवाले जनाएको छ।

यसअघि अमेरिकी उड्डयन निकाय एफएएले आफूले अमेरिकी वायुसेवाको स्वामित्वमा रहेका वा अमेरिकी भू(भागमा रहेका निश्चित प्रकारका बोइङ ७३७ म्याक्स ९ वायुसेवाको उडानलाई अस्थायी रूपमा रोक लगाउने जनाएको थियो।

प्रत्येक उडानको जाँच गर्न चारदेखि आठ घण्टा लाग्ने उसको भनाइ थियो।

यूकेको नागरिक उड्डयन प्राधिकरणले आफ्नो देशमा दर्ता भएका विमानमा ७३७ म्याक्स ९ विमान नरहेको जनाएको थियो।

उक्त निकायले सामाजिक सञ्जाल एक्समा आफूले गैरयूके र विदेशबाट अनुमति लिएका ध्वजावाहकहरूलाई यूकेको हवाई क्षेत्रमा आउनुअघि निरीक्षण गर्न निर्देशन दिन भनेको उल्लेख गरेको छ।

शुक्रवारको घटना पोर्टलेन्ड, ओरेगनबाट ओन्टारियो क्यार्लिफोर्नियातर्फ गइरहेको विमान १६ हजार फिट उचाइमा पुग्दा भएको थियो।

त्यसपछि उक्त विमानले आपत्कालीन रूपमा अवतरण थालेको फ्लाइट ट्रयाकिङ डेटाले देखाउँछ।

१ सय ७७ यात्रु र चालकदलका सदस्य रहेको उक्त विमानले पोर्टलेन्डमा सुरक्षित अवतरण गरेको थियो।

सञ्चारमाध्यममा पठाइएका तस्बिरमा विमानको एउटा हिस्सा गायब भएको र त्यहाँबाट रातको अँध्यारो देखिन्छ।

विमानलाई बाहिरी चिजबाट सुरक्षित बनाउन प्रयोग हुने इन्सुलेशन सामग्री र केही भग्नावशेष पनि देख्न सकिन्छ।

कुनै पनि संरचनागत विफलता वा कुनै हताहतिका सङ्केत तत्कालै देखिएका थिएनन्।

एक जना यात्रु इभान स्मीथले भन्नुभएको छ, “विमानको बायाँतर्फको पछिल्लो भागमा एकदमै चर्को र ठूलो आवाज आएको थियो र सबै एअर मास्क खसेको थियो।”

त्यो लहरमा एक जना बालक रहेको र उनको सर्ट विमानबाट बाहिर जान लागेको भन्दै स्मिथले ती बालकलाई बाहिर जानबाट रोक्न आमाले कसिएर समातेको बताउनुभयो।

एउटा अडियो क्लिपमा पाइलटले एअर ट्राफिक कन्ट्रोलसँग विमानलाई पुनः अवतरणका लागि फर्काउन अनुमति मागिरहेको सुन्न सकिन्छ।

“हामी सङ्कटमा छौँ। हामीले फर्कनु पर्ने भयो,” विमान चालकले भनेकी छन्।

तस्बिरहरूका अनुसार प्रभावित क्षेत्र विमानको पखेटा र इन्जिन भन्दा पछाडि पर्छ।

कतिपयले त्यो क्षेत्रलाई थप आपत्कालीन द्वारका रूपमा पनि प्रयोग गर्छन् तर आलास्का एअरलाइन्सले त्यसरी प्रयोग गर्ने गरेको थिएन।

उड्डयन सुरक्षाबारे कलम चलाउने एक जना पूर्व वायुसेवा पाइलट टेरी टोजरले उक्त क्षेत्र साधारण झ्याल भएको ठाउँ नभएको भनेर विमानभित्रका यात्रुहरूले भन्न नसक्ने बताउनुभयो।

उक्त क्षेत्रको क्षतिले सम्भवतः उडान कसरी भइरहेको छ भन्नेमा खासै असर नपार्ने भए पनि नजिकै बसिरहेका व्यक्तिमाथि ‘ठूलो जोखिम’ निम्त्याउने उहाँको भनाइ छ।

“सौभाग्यवश, झ्याल भएको त्यहाँको सिटमा कोही पनि बसिरहेको थिएन। यदि उनीहरूले बेल्ट नलगाएका हुन्थे भने, उनीहरू उडेर बाहिर पुग्थे।”

अलास्का एअरलाइन्सले प्रारम्भिक रूपमा ६५ वटा विमानहरूको उडान तत्कालका लागि रोकेको जनाएको थियो।

उसले “पूर्ण मर्मत र सुरक्षा निरिक्षणपछि प्रत्येक विमान सेवामा फर्कने’ जनाएको थियो।

त्यसपछि जारी गरिएको विज्ञप्तिमा उक्त एअरलाइन्सले एक चौथाइभन्दा बढी विमानहरूको निरीक्षण सम्पन्न भएको र कुनै पनि समस्या फेला नपरेकाले तिनीहरू पुनः उडानमा फर्कने उल्लेख गरेको थियो।

उक्त एअरलाइन्सले सुरक्षा जाँच सम्पन्न भइसकेका १८ वटा बोइङ ७३७ म्याक्स ९ को उडान पुनः रोक्ने जनाएको छ।

एउटा विज्ञप्तिमा बोइङले अमेरिकी नियामक निकायको निर्णयलाई आफूले समर्थन गर्ने र अलास्का एअरलाइन्सबारेको न्याश्नल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डको जाँचलाई सहयोग गरिरहेको उल्लेख गरेको छ।

“सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो र हामी यो घटनाले हाम्रा ग्राहक र यात्रुहरूमा पारेको प्रभावप्रति गहिरो दुख व्यक्त गर्छौ।”

बोइङको उक्त बढी विक्री हुने मोडेलमा देखिएको यो पछिल्लो समस्या हो। सन् २०१८ र सन् २०१९ मा विमान दुर्घटनापछि झन्डै २ वर्ष उक्त मोडेल ‘ग्राउन्डेड’ गरिएको थियो।

Share Now