विराटनगर(मोरड.), २५ पौष । नेप्लिज क्यानेडियन क्रिकेट क्लबले विराटनगरको होराइजन त्रिकेट क्लब लाई १ लाख ८० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री प्रदान गरेको छ ।
नेप्लिज क्यानेडियन क्रिकेट क्लबका संस्थापक अध्यक्ष इमरान असगरको पहलमा होइराइजन क्रिकेट क्लबलाई खेल सामग्री प्रदान गरिएको हो।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेप्लीज क्यानेडियन क्रिकेट क्लबका संस्थापक अध्यक्ष इमरान असगरले होराइजन क्रिकेट क्लबका अध्यक्ष सुनिलकुमार पौडेललाई ती खेल सामग्री हस्तान्तरण गरेका थिए ।
खेल सामग्री हस्तान्तरणका अवसरमा बोल्दै महानगर प्रमुख कोइरालाले राष्ट्रिय गौरवको आयोजनामा समावेश विराटनगर–१९ वैजनाथपुरमा सुविधासम्पन्न रंगशाला निर्माणपछि विराटनगरमा आर्थिक गतिविधि बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, नेपाली क्रिकेटले अहिले प्रगतिको खुटकिलोमा चढ़ेको देख्दा खुसी लाग्छ। नेपाली क्रिकेटलार्इ दीर्घकालीन सोचका साथ प्रगतिको बाटोमा अगाडि बढाउन सकिन्छ । हामीले जिल्ला र प्रदेशको क्लबहरुको स्तर पनि सुधार्दै जानुपर्छ । नेप्लिज क्यानडियन क्रिकेट क्लबले सहयोगले यस दिशामा केही मद्दत गर्न पाएकोमा हामी खुसी छौ ।
सो कार्यक्रममा विराटनगर महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष विश्वनाथप्रसाद भगत, वडा सदस्य आदित्य तुलाधर, वडा नं १७ का अध्यक्ष समिम कमर, नेपाल क्रिकेट संघ कोशी प्रदेश अध्यक्ष सर्वजीतराज पाण्डे, मोरङ अध्यक्ष मो साद बाबुलगायतको सहभागिता थियो ।
प्रतिष्ठित मिसिसाउगा क्रिकेट लिगमा सहभागी नेप्लिज क्यानेडियन क्रिकेट क्लब क्यानडा लिगमा प्रतिस्पर्धा गर्ने सम्भवतः पहिलो नेपाली खेलकुद टोली हो। २०२२ मा एनसीसीले नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई क्यानडाको राष्ट्रिय टोलीविरुद्ध ऐतिहासिक द्विपक्षीय शृङ्खलाको लागि क्यानडा लैजान महत्त्वपूर्ण भूमिका खेलेको थियो ।


















