Prakash Adhikari January 12, 2024

काठमाडौँ, २७ पौष । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै कार्यक्रममा उहाँप्रति श्रद्धासुमन अर्पण गरिने छ ।

सोही अवसरमा देशको प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिइँदैछ । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गर्नुभएको थियो ।

उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ ।

विसं १७७९ मा गोरखामा जन्मनुभएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गर्नुभएको थियो ।

उहाँले आफ्नो शासनकालमा दिनुभएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन् ।

भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उहाँले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको सङ्ज्ञा दिनुभएको थियो ।

पछिल्ला वर्षमा उहाँको योगदानका कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदाको परम्परा पुनः सुरु गरेको छ । उहाँको जन्मस्थान गोरखामा भने हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सत्तारुढ दलका नेता, पूर्वप्रधानमन्त्री लगायत राष्ट्रका विभिन्न विशिष्ट महानुभावले शुभकामना सन्देश दिनुभएको छ ।

नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ ।

राष्ट्रनिर्माताले त्यसबेला दिनुभएको अर्ति समेटिएको दिव्योपदेशलाई मुलुकमा सुशासन कायम गर्न निकै उपयोगी रहेको जनाउँदै कैयौँ सङ्घसंस्थाले विद्यालय तथा कलेजका पाठ्यपुस्तकमा समावेश गर्न माग गरेका छन् ।

५२ वर्षको उमेरमा विसं १८३१ मा देविघाटमा उहाँको निधन भएको थियो ।

पृथ्वीनारायण शाहले सुरु गर्नुभएको एकीकरण अभियानलाई उहाँका वंशजले पूर्णता दिंदै अखण्ड नेपालको निर्माण हुन गएको थियो ।

 

Share Now