Prakash Adhikari January 12, 2024

 

लण्डन(संयुक्त अधिराज्य), २७ पौष(बीबीसी) । यूके र अमेरिकी फौजले यमनका हूथी विद्रोहीविरुद्ध हवाई आक्रमण सुरु गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले रेड सी मा हूथी विद्रोहीले गत नोभेम्बरयता पानी जहाजहरूमाथि गरिरहेको आक्रमणको प्रतिक्रिया भएको बताउनुभएको छ। हूथी विद्रोहीलाई इरानले समर्थन गरेको बताइन्छ।

यूकेका प्रधानमन्त्री ऋषि सुनकले पनि आक्रमणको पुष्टि गर्दै रोयल एअर फोर्सका युद्ध विमानहरूबाट निश्चित सैन्य निसानामा आक्रमण गरिएको बताउनुभएको छ।

उहाँले यो हवाई आक्रमण “सीमित, अत्यावश्यक र आत्मरक्षाको लागि चालिएको कदम” भएको बताउनुभएको छ।

बाइडनका अनुसार द नेदरल्यान्डस्, अस्ट्रेलिया र बाहरेनले यो मिसनका लागि सहयोग गरेका छन्।

हूथी उपविदेश मन्त्री हुसेन अलइजीले “खुलमखुला आक्रमणको” अमेरिका र यूकेले “ठूलो मूल्य चुकाउनुपर्ने” चेतावनी दिनुभएको छ।

एक वरिष्ठ अमेरिकी अधिकारीले हालसम्म हूथीले जबाफी आक्रमण नगरेको बताउनुभएको छ।

आक्रमणको निसाना

रेड सी मा कार्गो जहाजहरूमा हूथी सैन्य हेलिकोप्टरले निगरानी गर्ने गरेका थिए ।

राजधानी सना सहित रेड सी मा हूथीको नियन्त्रणमा रहेको बन्दरगाह र यमनको उत्तर पश्चिमी क्षेत्रमा अवस्थित हूथीको पकड क्षेत्र सद्दामा हमला भएका विवरण आएका छन्।

यमनको अधिकांश क्षेत्र नियन्त्रणमा लिएका हूथीले इजरेलतर्फ जाने पानी जहाजहरूलाई निसाना बनाएर आफूहरूले हमासलाई समर्थन गरेको बताउने गरेका छन्।

अमेरिकी युद्धपोतले तोमहक क्रुज क्षेप्यास्त्र प्रहार गरेको र आफ्ना विमानले राजधानी सना सहितका १२ स्थानमा आक्रमण गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

साइप्रसको हवाई अखडाबाट आएका चार वटा आरएएफ टाइफुन जहाजले हूथीका दुई वटा निसानामा आक्रमण गरेको अमेरिकी अधिकारीहरूको दाबी छ।

सहज व्यापारको अवस्था सुनिश्चितताका लागि थप कदमहरू चाल्न सकिने चेतावनी अमेरिकी राष्ट्रपति बाइडनले दिनुभएको छ।

हूथीले सञ्चालन गरेको टेलिभिजन च्यानल अल(मजिराले अमेरिकी अगुवाइमा आक्रमण भएका स्थानहरूको विवरण टेलिग्राममा पोस्ट गरेको छ।

उक्त टेलिभिजनका अनुसार सना सहित देशको अन्तर्राष्ट्रिय विमानस्थल रहेको अलदुलामी हवाई अखडामा पनि हमला भएको छ।

आक्रमणको निसाना बनाइएका अन्य स्थानहरूमा सद्दा सहरको पूर्वमा रहेको एउटा क्याम्प, हुदैदा विमानस्थल, ताइज अन्तर्राष्ट्रिय विमानस्थल सहितका स्थान छन्।

हुथी को हुन् ?

यमनको ठूलो भूभाग नियन्त्रणमा लिएका हूथी विद्रोहीले रेड सी हुँदै इजरेल जाने सबै जहाजलाई निसाना बनाउने चेतावनी दिएका छन्।

गत नोभेम्बरमा हूथीहरूले इजरेली स्वामित्व जोडिएको एउटा कार्गो जहाज अपहरण गरेका थिए।

पछिल्ला दुई महिनामा उनीहरूले रकेट र ड्रोन प्रयोग गरेर धेरै अन्य व्यावसायिक जहाजहरूमा पनि आक्रमण गरेका छन्।

हुथीले कसरी इजरेली निसानामा आक्रमण गरे ?

गत अक्टोबर १९ मा गाजामा इजरेली जबाफी कारबाही तीव्र बन्दै गर्दा हूथीले पनि इजरेलतर्फ क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका थिए।

अमेरिकाले रेड सी मा रहेका आफ्ना केही युद्धपोतहरूले त्यसमध्ये केहीलाई बीचमै नष्ट गरिदिएको जनाएको थियो। कतिपय यस्ता रकेटहरू इजिप्टसम्म पुगेका बताइएको छ।

नोभेम्बरमा उनीहरूले इजरेलको भएको दाबी गरेको एउटा मालवाहक जहाज रेड सी मा कब्जा गरे र त्यसलाई यमनको तटीय क्षेत्रभन्दा पर लगेर राखे।

इजरेलले उक्त जहाज आफ्नो नभएको दाबी गर्‍यो र त्यसमा रहेका चालक दलका सदस्यहरू पनि इजरेली नभएको बतायो। तर अपुष्ट विपरणहरूका अनुसार उक्त जहाजका मालिकमध्ये एक जना इजरेली पनि थिए।

डिसेम्बर ३ यता हूथीहरूले यमनको तटीय क्षेत्रबाट कैयौँ व्यवसायिक पानी जहाजहरूमा ड्रोन र बलिस्टिक क्षेप्यास्त्रबाट आक्रमण गरेका छन्। अमेरिका, यूके र फ्रान्सका युद्धपोतहरूले त्यसमध्ये धेरैलाई रोक्न सफल भए पनि केही जहाजहरूमा भने निसाना लागेको छ।

विश्वको सबैभन्दा ठूलो शिपिङ कम्पनी मेडिटरेनिअनले आफ्ना सबै जहाजहरूलाई रेड सी को बाटो प्रयोग नगर्न भनिएको जनाएको छ। यस्तै निर्णय फ्रान्सेली कम्पनी सीएमए सीजीएम, डेनमार्कको मार्स्क, जर्मनीको हापाग(लोयड र तेलको कम्पनी बीपीले पनि यस्तै निर्णय लिएका छन्।

अमेरिकी एक सैन्य इकाइले हूथीहरूबाट भएको यस्तो आक्रमणलाई इरानले सघाएको आरोप लगाएका छन्। अमेरिकाले व्यावसायिक शिपिङको सुरक्षाका लागि जलसेनाको छुट्टै कार्यदल बनाउन प्रस्ताव गरेको छ।

हुथी को हुन् र किन आक्रमण गरिरहेका छन् ?

हूथीहरू यमनको शिया मुस्लिम अल्पसङ्ख्यक जाइदीहरूको सशस्त्र समूह हो।

सन् १९९० को दशकमा तत्कालीन राष्ट्रपति अली अब्दुल्लाह सालेहले भ्रष्टाचार गरेको दाबी गर्दै उनीहरूले भ्रष्टाचारविरुद्ध लड्न यो समूह गठन गरेको बताएका थिए। यसको नाम आन्दोलनका संस्थापक हुसेन अल हूथीबाट राखिएको हो।

सन् २००३मा अमेरिकाले इराकमा आक्रमण गरेपछि हूथीहरूले अमेरिका र इजरेलको अन्त्यको कामना गरेका थिए। उनीहरूले इरानको अगुवाइमा रहेको अमेरिका, इजरेल र पश्चिमा देशहरूको प्रतिरोधी कित्तामा हमास र हिजबुल्लाहसँगै आफूहरू पनि रहेको घोषणा गरेका छन्।

यसले उनीहरूले इजरेलतर्फ गइरहेका जहाजहरूलाई आक्रमण गरिरहेका छन् भन्ने बुझ्न मद्दत गर्ने एक जना विज्ञ बताउँछन्।

Share Now