Prakash Adhikari January 14, 2024

ताइपेइ(ताइवान), २९ पौष । ताइवानको राष्ट्रपतिमा डेमोक्रेटिक पिपुल्स पार्टीका अध्यक्ष विलियम लाइ विजयी बन्नुभएको छ । उहाँ अमेरिकी नीतिप्रति नरम र बेइजिङको नीतिप्रति कडा विरोधी मानिनु हुन्छ ।

चीनले उपराष्ट्रपति रहनुभएका विलियम लाई ‘समस्या सिर्जना गर्ने’ नेता भन्दै आलोचना गर्दै आएको छ।

शनिबार भएको निर्वाचनमा राष्ट्रपतिमा उहाँविजयी हुनुभएको छ।

ताइवानका सञ्चारमाध्यमहरूले विलियम लाइ राष्ट्रपति निर्वाचनमा ५० लाख बढी मत प्राप्त गर्ने पहिलो उम्मेदवार भनेर टिप्पणी गरेका छन्। उहाँले शनिबार साँझसम्म ५५ लाख ८६ हजार बढी मत पाइसक्नुभएको छ। उहाँले पाएको मत खसेको मतको ४०.१ प्रतिशत छ भने उहाँका प्रतिद्धन्द्धी होउले ३३.५ प्रतिशत मत पाउनुभएको छ ।

बेइजिङले ताइवानका जनतालाई लाइको विरुद्धमा मतदान गर्न आग्रह गरेको थियो। बेइजिङ निकट मानिने कोमिन्ताङ पार्टीले भने चुनावमा चीनसँग राम्रो सम्बन्ध स्थापना गर्ने वाचा गरेको थियो। कोमिन्ताङका राष्ट्रपतिका उम्मेदवार हाउ युइहे ४६ लाख ७१ हजार मतसहित दोस्रो स्थानमा आउनुभएको छ । तेस्रो स्थानमा ताइवान पिपुल्स पार्टीका को विन जे रहनुभएको छ ।उहाँले ३६ लाख ९० हजार मत पाउनुभएको छ।

जनवरी १३ मा भएको निर्वाचनमा संसदको १ सय १३ सिटका लागि पनि मतदान भएको थियो।

राष्ट्रपति जितेपनि सत्तारुढ डेमोक्र्याटिक पिपुल्स पार्टीले ताइवानको विधायिकाको नियन्त्रण भने गुमाएको छ। उसले विधायिकाको १ सय १३ सिटमध्ये ५१ सिट मात्र जितेको छ। कोमिन्ताङले ५२ सिट जित्ने अपेक्षा गरिएको छ भने तेस्रो पिपुल्स पार्टीले आठ सिट जितेको छ।

कोमिन्ताङ पार्टीका राष्ट्रपति पदका उम्मेदवार हु–यु यीले विलियम लाइ चिड.त्सेलाई बधाई दिँदै ताइवानका चुनौतीहरूको सामना सबै दलहरू मिलेर गर्नुपर्ने बताउनुभएको छ ।

‘हामीसँग धेरै समस्या छन्। हामीलाई ती समस्या समाधान गर्ने सरकार चाहिन्छ। हामीलाई युवाहरूको लागि काम गर्ने सरकार चाहिन्छ,’ उहाँले बीबीसीसँग भन्नुभयो, ‘कोमिन्ताङ अगाडि बढ्ने र बलियो बन्ने विश्वास लिएका छौं।’

राष्ट्रपति चुनाव जितेपछि लाइले पनि आफ्नो भनाइमा निकै सावधानीपूर्वक शब्द छनोट गर्नुभएको छ। यसबाट उहाँ चीनसँग ताइवानको सम्बन्धमा निकै सजग रहेको स्पष्ट हुन्छ।

उहाँले चीनसँग आपसी सम्मानका आधारमा वार्ता हुने बताउनुभयो। चीनले सधैं उहाँलाई ताइवानको स्वतन्त्रताको समर्थक भएको बताउँदै आएको छ।

लाइले अमेरिकाजस्ता आफ्ना सहयोगीहरूलाई पूर्ववर्ती राष्ट्रपति साइ–इङ वेनको सन्तुलनमा राख्ने नीति अवलम्बन गर्ने बताउदै आउनुभएको छ।

Share Now