Prakash Adhikari January 20, 2024

कम्पाला(युगाण्डा), ५ माघ । परराष्ट्रमन्त्री एनपी साउदले रुसी विदेशमन्त्रीसँग नेपाली नागरिकहरूलाई त्यहाँको सेनामा भर्ना नलिन आग्रह गर्नुभएको छ।

परराष्ट्रमन्त्री साउदले भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फर्काइदिन पनि आग्रह गर्नुभएको छ।

युगान्डाको राजधानी कम्पालामा जारी असंलग्न राष्ट्रहरूको नाम शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटघाटका क्रममा उहाँले नेपाली नागरिकलाई सेनामा भर्ना नलिन र भर्ना भएकालाई फिर्ता गरिदिन आग्रह गर्नुभएको हो ।

 

‘हामीले रुसी पक्षलाई केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको बतायौँ,’ उहाँले भन्नुभयो, ‘त्यसकारण रुसलाई नेपाली नागरिक भर्ना नगर्न आग्रह गरेका छौँ।’

परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति दिन पनि आग्रह गर्नुभयो।

‘रुसमा मृत्यु भएका व्यक्तिका परिवार धेरै पीडामा छन्। आफन्तको शव प्राप्त गरी आफनो संस्कृतिअनुसार अन्त्येष्टि गर्ने परिवारको चाहनालाई सम्मान गर्नु हाम्रो मानवीय दायित्व हो। त्यसकारण नेपाली नागरिकका शवलाई चाँडै स्वदेश फिर्ता गर्न भनेका छौँ,’ मन्त्री साउदले रुसी उपविदेशमन्त्रीसँग भन्नुभयो, ‘रुसी पक्षले मृतकका परिवारलाई रुसी कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिएको छ। यसका लागि प्रक्रिया छिटो अघि बढाउन आग्रह गरेका छौँ।’

जवाफमा रुसी उपविदेशमन्त्री वर्सिनिनले परराष्ट्रमन्त्री साउदले उठाएका विषयहरू सम्बोधनका लागि पहल गरिने बताउनुभयो।
रुसी प्रतिनिधिमण्डलका प्रमुखसमेत रहेका उपविदेशमन्त्रीसँगको भेटमा नेपाल–रुस सम्बन्धका विविध विषयमा छलफल भएको थियो।

उहाँले नेपाल र रुस सम्बन्धको लामो इतिहाससमेत उल्लेख गर्नुभयो। ‘हाम्रो सम्बन्धको जग बलियो छ,’ रुसी उपविदेशमन्त्रीले भन्नुभयो, ‘हामीले यी सम्बन्धलाई अगाडि बढाउनु पर्छ।’

Share Now