नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आर्थिक अवस्थाले मात्र पत्रकारिता समस्यामा नपरेको स्पष्ट पार्नुभयो । गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, पत्रकारिता समस्यामा पर्नुको मूल कारण सामाजिक सञ्जाल हो ।’
उहाँले भन्नुभयो, ‘सूचना प्रविधिको विकासले परम्परागत सञ्चारमाध्यम जोखिममा परेका छन् । हात–हातमा स्मार्ट फोन छ, त्यहाँ जसले जे पनि राख्न पाउँछ । कतिपय झुटा कुरा पनि सेयर भइरहेका हुन्छन् । हेर्दाहेर्दै त्यही कुरा मानिसलाई सत्य लाग्न थाल्छ । आम मानिसले गम्भीर कुरा चाहिँ पढ्न छाडे । मानिसहरु गहिराइमा जान छोडे, टिकटकमा रमाउन थाले । गहिराइमा पुगेर सत्य तथ्य बुझेर विचार बनाउने मानिसहरुले छाडे । यो अत्यन्तै खतरनाक हो ।’
बीपी कोइरालाले भन्नुभएको थियो, ‘जब सत्यको मुख बन्द हुन्छ, झुटोको थुतुनो चल्छ । अहिले सामाजिक सञ्जालबाट धेरैजसो झुटोको थुनुतो चलेको छ । सत्य बुझेकाहरु गाली खाइछ भनेर चुप लागेर बसेका छन्, मन्त्री डा. महतले भन्नुभयो, ‘सामाजिक सञ्जालमा मात्र निर्भर हुनुहुँदैन, मूलधारका सञ्चारमाध्यमलाई पनि अगाडि ल्याउनुपर्छ । परम्परागत सञ्चारमाध्यमको विश्लेषण हुन्छ, छलफल हुन्छ, जिम्मेवारी हुन्छ, निरन्तरता लिइराखेको हुन्छ, यसलाई मर्न दिनु हुँदैन ।’
प्रतिबन्धित अवस्थामा पनि निर्भिक भएर पत्रकारितामार्फत् आफ्नो कुरा राख्नु चानचुने कुरा नभएको उहाँले बताउनुभयो । उहाँले विगतको पत्रकारिता स्मरण गर्दै लोकतान्त्रिक धारबाट होमनाथ दाहाल र वामपन्थीधारबाट मातृभूमि गोविन्द वियोगीले प्रकाशित गर्नुहुन्थ्यो । प्रत्येक साता यी दुई पत्रिका निस्केको दिन हेर्नैपर्ने बताउनुभयो ।
दबाब र अप्ठ्याराका बाबजुद लोकतान्त्रिक मूल्य र मान्यता देशमा स्थापित गर्ने लक्ष्यका साथ उहाँ लाग्नुभयो, मन्त्री डा. महतले भन्नुभयो, ‘वियोगीजी सम्झिराख्नुपर्ने व्यक्तित्व हुनुहुन्थ्यो । त्यसअर्थ ट्रस्ट स्थापना भएको छ । यसको कार्यालय नुवाकोटमा रहेको छ, यसमा म अन्त्यै खुशी छु । ट्रस्टको विकास, गतिशीलता पत्रकारितासँग जोडिएको विषयवस्तुमा अन्तक्र्रिया होस्, छलफल होस् । यो परिसरको पूर्णरुपमा उपयोग होस्, ट्रस्ट जीवन्त बनोस् ।’
विधिको शासन सुनिश्चित गर्नका लागि विषम परिस्थितिमा पनि निडर भएर उहाँले काम गर्नुभएको मन्त्री डा. महतले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘यसैका आधारमा आज हामीले स्वतन्त्रता उपभोग गरिरहेका छौं भन्ने कुरा हामीले बिर्सन मिल्दैन ।’
देशको आर्थिक अवस्था अप्ठ्यारा भएकाले कुनै पनि संघसंस्थालाई राज्यले सहयोग गर्न नसकेको उहाँले बताउनुभयो । परिस्थिति सहज भएपछि संघसंस्थाको महत्वलाई बुझेर पुनः सहयोग उपलब्ध गराइने उहाँको भनाइ थियो ।


















