Prakash Adhikari January 20, 2024

टोकियो(जापान), ६ मा(बीबीसी) । एक जापानी रोबोट चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ। तर त्यसको सौर्य ऊर्जा प्रणालीमा समस्या देखिएसँगै उक्त मिसनले केही घण्टा मात्र काम गर्न सक्ने देखिएको छ।

द स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको मध्य रेखा नजिकैको खाडल ुक्रेटरुमा नियन्त्रित रूपमा अवतरण गरेको हो।

यस सफलतासँगै एशियाली मुलुक जापान चन्द्रमामा नियन्त्रित रूपमा अवतरण गर्न सफल पाँचौँ देश बनेको छ।

यसअघि अमेरिका, तत्कालीन सोभियत सङ्घ, चीन र भारत चन्द्रमामा पुगेका छन्।

यद्यपि इन्जिनियरहरू अझै उक्त मिसनलाई जोगाउन लागि परेका छन्।

अहिले के भइरहेको छ?

जापान चन्द्रमामा नियन्त्रित रूपमा अवतरण गर्न सफल पाँचौ देश बनेको छ।

जापान चन्द्रमामा नियन्त्रित रूपमा अवतरण गर्न सफल पाँचौ देश बनेको छ।

अझै कारण थाहा नभए तापनि उक्त यानमा रहेका सौर्य ब्याट्रीले ऊर्जा उत्पादन गर्नेछैनन्।

जसका कारण स्लिम पूर्णतः उसका ब्याट्रीमा भर पर्नेछ र ती बिस्तारै ‘डिस्चार्ज’ हुनेछन्।

त्यसो भएपछि अन्तरिक्ष यानले काम गर्नेछैन।

त्यसले कमान्डहरू लिनेछैन र पृथ्वीसँग सम्पर्कमा रहन सक्नेछैन।

इञ्जिनिअरहरूले अहिले प्राथमिकता निर्धारण गर्दै आफ्ना कामहरू गरिरहेका छन्।

उनीहरूले लुनार ल्यान्डरबाट ब्याट्री सकिनु अगाडी सक्दो धेरै डेटा हात पार्ने प्रयास गरिरहेका छन्।

जसक्रममा उनीहरूले हिटरहरू बन्द गरेका छन् त्यसले खिचेका तस्बिरहरू समेत निकाल्ने काम गरिरहेका छन्।

उनीहरूले निकालिरहेको अर्को एक डेटाले अवतरण सम्बन्धी सफ्टवेअरले कसरी काम गर्‍यो भन्ने जानकारी दिनेछ।

जापानी अन्तरिक्ष निकायका अधिकारीहरूले स्लिम निष्क्रिय अवस्थामा गइहालेमा पनि तत्कालै सबै प्रयास छाडिहाल्ने छैनन्।

उनीहरूका अनुसार चन्द्रमामा प्रकाशको दिशा परिवर्तन हुँदा स्लिम पुनः सक्रिय हुनसक्ने सम्भावना रहन सक्छ।

नियन्त्रित अवतरणको दाबी

चन्द्रमामा स्लिम ल्यान्डरबाट निस्किएका दुई रोभरको कलाकृति सार्वजनिक गरिएको छ

एक पत्रकार सम्मेलनमा के जापानले अन्तरिक्षयान नियन्त्रित रूपमा अवतरण भएको तर्कसङ्गत दाबी गर्न सक्छ भनेर सोधिएको थियो।

जवाफमा जापानको अन्तरिक्ष निकायका उपाध्यक्ष हितोसी कुनिनाकाले त्यसो गर्न सकिने बताउनुभयो।

“नियन्त्रित अवतरण सफल नभएको भए त्यहाँको सतहमा तीव्र गतिमा ठोक्किन सक्थ्यो र अन्तरिक्षयान पूर्ण रूपमा काम गर्न नसक्ने हुन्थ्यो”, उहाँले संवाददाताहरूसँग भन्नुभयो , “यसले अझै हामीलाई राम्रोसँग डेटा पठाइरहेको छ जसको अर्थ हाम्रो नियन्त्रित अवतरण गराउने सुरुवाती उद्देश्य सफल भएको छ।”

स्लिम अवतरण भएपछि त्यसबाट दुई साना रोभरहरू निस्किएका थिए जसले पृथ्वीतर्फ डेटाहरू पठाउन थालेको जापानी अन्तरिक्ष निकायले जनाएको छ।

इन्फ्रारेड क्यामेरा राखिएका रोबोटले त्यस ठाउँको भूगर्भ अध्ययनका लागि आउँदो पन्ध्र दिन बिताउने सोचिएको थियो।

तर अब उपलब्ध समयभित्र यस अनुसन्धानको कति कुरा हासिल गर्न सकिएला भन्ने चाहीँ अनिश्चित देखिएको छ।

स्लिम जापानी समय अनुसार शनिवार मध्यरातपछि चन्द्रमामा अवतरण गरेको थियो।

विगतका प्रयासहरू हेर्दा चन्द्रमामा अवतरण गर्ने काम निकै कठिन पाइएको छ। अहिलेसम्म भएका प्रयासमध्ये झण्डै आधामात्र सफल भएका छन्।

Share Now