बफेलोपार्क(इष्टलण्डन,दक्षिण अफ्रिका), ७ माघ । आइसीसी यू १९ विश्वकप क्रिकेट अन्तर्गत आज नेपाल यू १९ राष्ट्रिय क्रिकेट टोली समूहको पहिलो खेलमा न्युजिल्याण्डसंग भिड्दै छ ।
खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । नेपाल र न्युजिल्याण्ड दुवैको यो पहिलो खेल हो । नेपाल रहेको समूह डी मा शनिबार पाकिस्तानले अफगानिस्तानलाई १ सय ८१ रनको भारी अन्तरले पराजित गरिसकेको छ ।
सिनियर टोलीमा न्युजिल्याण्डको स्तर नेपालभन्दा माथि रहे पनि यू १९ मा नेपाली टोली न्युजिल्याण्डभन्दा बलियो सावित भैसकेको छ । विगतमा यसअघि भएको दुवै खेलमा नेपालले न्युजिल्याण्डलाई जितेको छ ।
सन् २००६ मा कनिष्क चौगाईंको कप्तानीमा रहेको नेपालले वसन्त रेग्मीको अलराउन्ड प्रदर्शनमा न्युजिल्याण्डलाई एक विकेटले स्तब्ध पारेको थियो । त्यस्तै २०१६ मा राजु रिजालको कप्तानी इनिङमा नेपाल विजयी भएको थियो ।
यसपटक नेपाली टोलीमा सिनियर टोलीके अनुभव बोकेका देव खनाल र गुल्शन झा पनि छन् । लगातार यू १९ उमेर समूहमा प्रतिस्पर्धा गरिरहेको टोलीमा अनुभवी प्रशिक्षक जगत टमाटाको उपस्थिति छ ।
सिनियर टोलीविरुद्ध लगातार खेलेका तीव्र गतिका बलर रहेकाले पनि नेपालले आजको खेलमा विजयी हुने ठूलो आशा राखेको छ।
समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर ६ को यात्रा तय गर्नेछन् । त्यसपछि समूह ए का टोलीले समूह डी तथा समूह बी र समूह सी को टोलीले एक अर्कासँग खेल्नेछन् ।
यु १९ विश्वकपको समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका रहेका छन् भने समूह बीमा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड छन् । त्यस्तै समूह सीमा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया रहेका छन् भने समूह डीमा नेपाल, न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान रहेका छन् ।
सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन् । समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन् ।
देव खनालको कप्तानीमा रहेको नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कंडेल, विशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, दिपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द रहेका छन् ।
नेपाली टोलीले आज माघ ७ न्युजिल्यान्डसंग अफ्रिकाको इष्ट लण्डनस्थित बुफलो पार्क स्टेडियममा खेल्ने छ । त्यस्तै , माघ १० (२४ जनवरी)मा पाकिस्तानसंग सोही रंगशालामा भिड्ने छ । नेपाललले तेस्रो खेल माघ १२ (२६ जनवरी)मा अफगानिस्तानसंग बुफलो पार्क, इस्ट लन्डनमा खेल्ने छ ।
नेपालको आठौं यात्रा
नेपाल यू १९ विश्वकप आठौं पटक खेल्दैछ । यसअघि नेपालले २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा यू १९ विश्वकप खेलेको थियो ।
हालसम्म यू १९ विश्वकपमा नेपालको उत्कृष्ट नतिजा प्लेट च्याम्पियन हो । २००६ को प्लेट च्याम्पियन फाइनलमा न्युजिल्यान्डलाई एक विकेटले हराउँदै नेपालले उपाधि जितेको थियो ।


















