Prakash Adhikari January 24, 2024

बफेलोपार्क(दक्षिण अफ्रिका), १० माघ । आइसीसी यू १९ विश्वकप अन्तर्गत नेपाली टिमले समूह डी को दोस्रो खेल पाकिस्तानसंग खेल्दै छ ।

खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । न्युजिल्यान्डले प्रस्तुत गरेको ३ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा २ सय ३८ रन जोडेको थियो । नेपालक लागि अर्जुन कुमालले ९० रनको इनिङ खेलेका थिए ।

नेपाली खेलाडीहरुले सुरु र मध्यक्रममा विकेट लिन चुक्दा न्युजिल्याण्डलाई विशाल स्कोर जम्मा गर्ने अवसर प्राप्त भएको थियो । नेपालले धेरै विकेट ४० ओभरपछि लिएको थियो । ४० ओभरपछि विकेट लिदा खेलाडीको खातामा विकेटको संख्या त बढ्छ तर प्रतिस्पर्धीले विशाल स्कोर जोड्छ । आफ्ना लगभग सबै खेलाडी बलिड. र फिल्डिड.मा उत्रिदा त्यसपछि ब्याटिड. गर्ने खेलाडीहरु थाक्छन् र अपेक्षित नतिजा आउदैन । न्युजिल्याण्डसंगको खेलमा नेपाली खेलाडीको कमजोरी त्यही रह्यो ।

यता पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानमाथि १ सय ८१ रनको फराकिलो जित निकालेको थियो । सुरुवाती ब्याटिङ गर्दै २ सय ८४ रन बनाएको पाकिस्तानले अफगानी टोलीलाई १ सय ३ रनमा अलआउट गरेको थियो । पाकिस्तानका ओपनर शाहजीव खानले शतक बनाउँदा तीव्र गतिका बलरले उत्कृष्ट बलिङ गरेका थिए ।

नेपालले गत महिना पाकिस्तानविरुद्ध एसीसी यू१९ एसिया कपमा पनि खेलेको थियो । उक्त खेलमा पाकिस्तान ७ विकेटले विजयी भएको थियो । दुवै टोलीमा त्यसयता खासै परिवर्तन भएको छैन ।

यू१९ विश्वकप इतिहासमा नेपाल र पाकिस्तान तीन पटक भिडेका छन् । सन् २००० मा खेल रद्द हुँदा २००२ संस्करणमा नेपालले पाकिस्तानलाई स्तब्ध पारेको थियो । सन् २०१६ मा भने पाकिस्तानले १ सय २२ रनको जित हासिल गरेको थियो ।

नेपाल प्रतियोगिताको समूह डी मा रहेको छ । समूहमा नेपालसँगै न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् ।

समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर ६ को यात्रा तय गर्नेछन् । त्यसपछि समूह ए का टोलीले समूह डी तथा समूह बी र समूह सी को टोलीले एक अर्कासँग खेल्नेछन् ।

सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन् । समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन् ।

नेपाली यु १९ टोली

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कंडेल, विशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, दिपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द

Share Now