Prakash Adhikari January 24, 2024

 

मस्को(रुस), १० माघ(बीबीसी) । रुसको युक्रेनसँग सीमा जोडिएको दक्षिणी बेल्ग्रड क्षेत्रमा एउटा जहाज दुर्घटना परेको छ। मस्कोले जनाए अनुसार रुसी इल्यूशिन–७६ सैन्य ढुवानी जहाज दुर्घटनामा परेको हो।

रुसी रक्षा मन्त्रालयका अनुसार उक्त दुर्घटनामा कम्तीमा ६५ जना युक्रेनी युद्धबन्दीहरू मारिएका छन्।

रिया नोभोस्ती न्यूज एजेन्सीका अनुसार उक्त जहाजमा ६ जना चालक दलका सदस्यसहित युक्रेनी युद्धबन्दीबाहेक अन्य ९ जना पनि यात्रारत थिए।

क्षेत्रीय गभर्नर भ्याचिस्लाभ ग्लाडकोभले उनलाई घटनाबारे जानकारी भएको बताए। तर उनले थप विवरण दिएनन्।

उक्त जहाजमा रहेका व्यक्ति बारेका कुनै पनि विवरणहरूको स्वतन्त्र रूपमा पुष्टी गर्न सकिएको छैन।

युक्रेनी पक्ष के भन्छ ?

युक्रेनी सैन्य कार्यालयलाई उदृत गर्दै प्राभदा वेबसाइटले लेखे अनुसार उक्त जहाजले रुसको एस ३०० हवाई सुरक्षा प्रणालीका निम्ति क्षेप्यास्त्र ढुवानी गरिरहेको थियो। त्यसमा युक्रेनी युद्धबन्दीहरू रहेकोबारे केही पनि उल्लेख छैन।

सामाजिक सञ्जालहरूमा साझा गरिएको भिडिओमा स्थानीय समय अनुसार ११ बजे याब्लोनोभो गाउँ नजिकै एउटा विमान खसेको र त्यसपछि विस्फोट भएको देखिन्छ।

रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले क्रेमलिनलाई दुर्घटनाको बारेमा जानकारी रहेको बताउनुभएको छ। उहाँले विस्तृत विवरण दिन अस्वीकार गर्नुभएको छ।

Share Now