बफेलोपार्क(दक्षिण अफ्रिका), १० माघ । आईसीसी यु १९ विश्वकप क्रिकेट अन्तरगत आज भएको खेलमा नेपाली टोलीले प्रतिस्पर्धी पाकिस्तानसमक्ष १ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दक्षिण अफ्रिकाको इष्टलण्डनस्थित बफेलोपार्क स्टेडियममा भएको ५० ओभरको खेलमा नेपालले १० विकेटको क्षतिमा १ सय ९७ रन जोडेको हो ।
आजको खेलमा नेपाली ब्याटरहरुलाई मैदानमा टिक्नै कठिनाईको सामना गर्नु पर्यो ।
नेपालले आशा गरेका अर्जुन कुमाल जम्मा ६ रनमा आउट भए । गुलशन झा पनि १८ रनमा नै आउट भए । नेपालका तर्फबाट सर्वाधिक रन विपिन रावलले बनाए । उनले जम्मा ३९ रन बनाएका थिए । खेलमा आकाश त्रिपाठीले ६, कप्तान देव खनालले २३, उत्तम मगरले ४, दिपक डुम्रेले २६, दिपेश कँडेलले १३, सुवास भण्डारीले २०, आकाश चन्दले ११ रन जोडेका थिए भने दुर्गेश गुप्ता खाता खोल्न नपाई आउट भएका थिए ।
यस पहिले आइसीसी उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट अन्तर्गत समूह ‘डी’ को आफनो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा पाकिस्तान विरुद्धको खेलमा नेपाली टोलीका कप्तान देव खनालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको नेपाल ठूलो स्कोर जुटाउन असमर्थ रहेको छ । अब पाकिस्तानलाई पराजित गर्ने जिम्मेवारी ब्याटरहरुको हातबाट फुत्केर बलरहरुको हातमा पुगेको छ । पाकिस्तानका शीर्ष ब्याटरहरुको विकेट जति छिटो लिन सक्यो, नेपालको जीत उति सुनिश्चित हुन जान्छ । यसको लागि बलरहरुले आफ्नो सीप जाँगर लगाएर देखाउन पर्ने हुन्छ ।
नेपाल पहिलो खेलमा न्यूजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानमाथि एक सय ८१ रनको फराकिलो अन्तरले जित निकालेको थियो ।
समूह ‘डी’मा रहेको नेपालसँग न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् । समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर–६ को यात्रा तय गर्नेछन् ।
नेपाली यु–१९ टोलीमा कप्तान देव खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, र सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रङ्गु थापा मगर, विपीन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन् ।


















