काठमाडौं, १० माघ । पूर्ण सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले नयाँ जहाज खरिद गर्न र निगमले विभिन्न समयम वित्तीय संस्थाहरुबाट लिएको कर्जा भुक्तानी गर्न सहुलियत ब्याजदरमा नयाँ ऋणदाताको खोजी गरेको छ ।
निगमले मंगलबार ग्लोबल टेण्डर आह्वान गरेर स्वदेशी तथा विदेशी सरकारी तथा निजी वित्तीय संस्थाबाट १ खर्ब ३५ अर्ब रुपैयाँ ऋण रकम माग गरेको छ ।
आशय पत्रको ग्लोबल आह्वानमा उल्लेख भए अनुसार निगमले सहुलियत दरमा खोजिएको नयाँ ऋणबाट ५५ अर्ब रुपैयाँ निगमको नाममा हाल रहेको कर्जाको साँबा र व्याज भुक्तानी गर्न र ७५ अर्ब रुपैया थप जहाज खरिद गर्नमा लगाउने छ भने ५ अर्ब रुपैयाँ भने निगमले ह्यांगर निर्माणमा खर्च गर्ने छ ।
निगमले सहुलियतमा कर्जा लिएपछि हाल वार्षिक करिब १० प्रतिशतमा लिएको कर्जाको साँबा तथा ब्याज चुक्ता गर्ने रणनीति बनाएको वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताउनुभएको छ। चर्को ब्याजदरका कारण निगमले गरेको आम्दानी बचत हुन नसकेको र आफ्नै आम्दानीबाट थप विमान खरिद गर्न कठिनाई भएपछि निगमले सहुलियत दरको कर्जाको खोजी गरेको हो ।
कार्यकारी अध्यक्ष अधिकारीले स्वदेशी तथा विदेशी संस्थाहरुले ऋण दिने वचन दिएकोले कसले प्रतिस्पर्धात्मक रुपमा कम दरमा दिन्छ त्यस्तो ऋणको उपयोग गरेर निगमको कर्जा पनि चुक्ता गर्ने र थप जहाज पनि थप्ने उद्देश्यले विश्वका वित्तीय संस्थाहरुसंग आशयपत्र माग गरिएको बताउनुभयो ।
निगमले बनाएको १० वर्षे योजनाअनुसार अन्तर्राष्ट्रिय उडानका लागि थप जहाज खरिद गर्नुपर्दछ । त्यसमध्ये ३ वटा न्यारो बडी जहाज तत्कालै आवश्यक देखिएको छ ।
निगमले यसरी लिएको कर्जाको ब्याजदर अपरिवर्तनीय हुनुपर्ने र ऋण आवश्यकता अनुसार लिइने तथा भुक्तानी २५ बर्षमा गरिने शर्त राखिएको छ । निगमले आह्वान गरेको प्रस्तावको सूचनामा जनाइए अनुसार निगमले ब्याजदर मासिक रुपमा गणना गर्ने छ र त्रैमासिक रुपमा भुक्तानी गर्ने छ ।
निगमले ४५ दिनको समय दिएर मागेको यस्तो वित्तीय व्यवस्थापनको प्रस्ताव पेश गर्ने अन्तिम मिति आगामी मार्च छ अर्थात फागुन २३ गते गरहेको छ । ती प्रस्तावहरु मार्च ७ अर्थात फागुन २४ मा खोलिने छन् ।
निगमले प्रस्ताव पेस गर्ने कम्पनीको योग्यता पनि तोकेको छ । जस अनुसार स्थापना भएको ७ बर्ष पुगेको वित्तीय संस्था जसले कम्तिमा २ परियोजनामा १००० मिलियन डलरको लगानी गरेको छ, नेटवर्थ निगमले माग गरेको कर्जाको १० गुणा छ र तरल सम्पत्ति निगमले माग गरेको कर्जाको कम्तिमा दुई गुणा छ, तिनले निगमलाई कर्जा दिने प्रस्ताव गर्न सक्ने छन् ।
राष्ट्रिय ध्वजाबाहक निगमले तत्कालै एयरवस निर्मित न्यारोबडीका जहाज भाडामा लिने पनि तयारी गरिरहेको छ । निगमले भाडामा जहाज लिने विषयमा अध्ययन गराएको एक प्रतिवेदन सञ्चालक समितिमा पेस गरिसकेको जानकारी दिएको छ ।
निगमले आन्तरिक उडानको लागि ३ वटा जहाज खरिद गर्दै छ । स्टल रुटमा उड्ने जहाजको लागि टेण्डर समेत भइसकेको छ । निगमले देशका ट्रंक रुपमा चल्ने जहाज पनि थप्ने योजना बनाएको छ ।



















