Prakash Adhikari January 25, 2024

 

काठमाडौं, ११ माघ । वैज्ञानिकहरूले यसपालि जाडो महिनामा वर्षा नभएका सहितका कारणले गर्दा हिमाली क्षेत्रमा हिउँको मात्रा कम भएको भन्दै त्यसले नदी प्रणाली र तल्लो भूभागमा बसिरहेका मानिसहरूलाई प्रभावित पार्न सक्ने बताएका छन्।

नेपाल सरकारका एक जना अधिकारीले अहिलेसम्मको परिस्थिति हेर्दा यो साल नेपालका हिमालहरूमा केही वर्ष यताकै कम हिउँ देखिएको टिप्पणी गरेका छन्।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका एक जना वैज्ञानिकले सगरमाथा क्षेत्रमा अघिल्लो वर्षको तुलनामा खासै फरक नदेखिएको भए पनि समग्र हिमालय क्षेत्रलाई हेर्ने हो भने विगत वर्षको तुलनामा यो वर्ष बढी सुक्खापन र कम हिउँ देखिएको जनाएका छन्।

कीर्तिमानी परिमाणमा कम हिउँ परेकाले सम्पूर्ण हिन्दु कुश क्षेत्र प्रभावित हुने र पानीको अभाव देखा पर्नसक्ने केन्द्रले जनाएको छ।

 

नेपाली अधिकारीहरूको भनाई

सन् २०२३ को ज्यानुअरी २२ को सगरमाथा क्षेत्रको  तस्बिर

यसै साता एक जना अमेरिकी विज्ञले विश्वको सर्वोच्च शिखर सगरमाथामा हिउँ सधैँ जमिरहने स्थान यस पटकको जाडो याममा ६००० मिटर माथि सरेको उल्लेख गरेका थिए।

तीन महिनाको अन्तरालमा सगरमाथाको हिमरेखा २०० मिटर माथि सरेको ती विज्ञको भनाइ थियो।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हिम सर्भे तथा हिमताल शाखाका सिनिअर डिभिजनल हाइड्रोलोजिस्ट दिनकर कायस्थले हिउँद याममा पर्याप्त मात्रामा पानी नपर्दा हिमालय क्षेत्रहरूमा हिउँ घटेको बताउनुभयो।

उहाँले भन्नुभयो, “माडागस्करबाट आउने पानीबाट जाडो महिनामा वर्षा हुने हो। त्यो पानी यो पालि परेन। त्यो भएर माथिल्लो भूभागमा हिउँ कम पर्‍यो। अहिले हिउँले ढाकिएको क्षेत्र केही वर्ष यताकै कम छ।”

अमेरिकाको म्यासाचुसेट्सस्थित निकोलस कलेजका वातावरण विज्ञानसम्बन्धी प्राध्यापक माउरी पेल्टोले अमेरिकन जिओफिजिकल युनियनको एउटा ब्लगमा प्रकाशित गरेको लेखमा तीन महिनाअघिको तुलनामा सगरमाथाको हिमरेखा २०० मिटर माथि सरेको उल्लेख गर्नुभएको छ।

उहाँका अनुसार यस पटक जाडो याममा खुम्बु क्षेत्रमा रहेको नाङपा ला र नुप ला पासहरूमा हिउँ छैन।

लामो सुक्खाका बीच हिउँ नपग्लिई सधैँ जमिरहने सगरमाथाको हिमरेखा वृद्धि भएको तर तापक्रम भने चिसो रहेको उनले उल्लेख गरेका छन्।

हिम सर्भे तथा हिमताल शाखाका सिनिअर डिभिजनल हाइड्रोलोजिस्ट दिनकर कायस्थ हिउँ जम्मा भएको स्थान यो वर्ष माथि सरेको बताउनुहुन्छ।

उहाँले भन्नुभयो, “हामीले हिमरेखा भन्ने ठाउँहरू ५५ सय देखि ५६ सय मिटरसम्म हुन्छ। तर यसपालि खुम्बु क्षेत्रमा ६ हजार मिटरमा छ। ६ हजार वा ७ हजार मिटरमाथि त हिउँ नै हुने भयो तर जुन पहिला हिमरेखा भन्ने गरिएको ठाउँ थियो त्यहाँ अहिले हिउँ कम छ र बढी चट्टान देखिन्छ।”

यसले के सङ्केत गर्छ ?

सगरमाथामा ज्यानुअरी १० मा हिमरेखा ६ हजार मिटरभन्दा माथि पुगेको थियो ।

ल्यान्डसाट नामक भूउपग्रहबाट लिइएको तस्बिरले सन् २०२३ को अक्टोबरमा सगरमाथामा हिउँ जमिरहने ठाउँको औसत उचाइ ५ हजार ८ सय मिटर देखाएको वैज्ञानिकहरू बताउँछन्।

तर नोभेम्बर १, २०२३ देखि ज्यानुअरी २०, २०२४ को तथ्याङ्कले ५ हजार ३ सय १५ मिटरको उचाइमा अवस्थित सगरमाथा आधार शिविरमा २५ मिलिमिटर भन्दा कम वर्षा भएको देखाएको थियो।

त्यस्तो सुक्खापनका माझ डिसेम्बरको मध्यमा ६ दिन उक्त क्षेत्रको तापक्रम शून्य डिग्री सेल्सिअसभन्दा बढी रहेको भनिएको छ। डिसेम्बर २३ देखि ज्यानुअरी २० सम्म भने तापक्रम शून्य डिग्री भन्दा कम रहेको थियो।

सगरमाथाको आधार शिविरमा राखिएको मौसम मापन केन्द्रले लगभग सधैँजसो आकाश खुलेको देखाएको प्राध्यापक पाल्टोले लेख्नुभएको छ।

सन् २०२१ मा पनि ल्यान्डस्याट भूउपग्रहले लिएको तस्बिरमा हिमरेखा ६ हजार १ सय ५० मिटरमाथि पुगेको पाइएको थियो। त्यसबेला सन् २०२० को अक्टोबरभन्दा हिउँ सधैँ जमेर रहने उचाइ २५० मिटरले बढेको पाइएको थियो।

प्राध्यापक पाल्टोको भनाइ छ, “सगरमाथामा रहेका मौसम केन्द्रबाट प्राप्त जाडोयामको मौसमको अवस्थाको अध्ययनले हिउँ बाफ भएर पग्लने (सब्लिमेशन रेट्स) दर उल्लेख्य रहेको देखाएको छ जसमा प्रत्येक दिन २.५५ मिलिमिटरसम्म क्षति भइरहेको पाइन्छ। तल्लो भूभागको खडेरी र हिउँ नरहेको (माथिल्लो भागको) अवस्था नेपालदेखि काराकोरमसम्म नै देखिएको छ।”

कलाम उपत्यका
हिन्दूकुश क्षेत्र अन्तर्गत पाकिस्तानको कलाम उपत्यकाको भूउपग्रहको तस्बिर

डाक्टर सेर मोहम्मद अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रमा हिमालय क्षेत्रमा घटिरहेको हिउँको तहबारे भइरहेको अध्ययनको नेतृत्व गर्नुहुन्छ।

उहाँले बीबीसीसँग भन्नुभयो, “अघिल्लो वर्षको अवस्थासँग तुलना गर्दा सगरमाथामा हिउँको स्तर खासै फरक देखिँदैन। तर समग्र हिमालय क्षेत्रको अवस्था तपाईँले हेर्नुभयो भने यो वर्ष निक्कै सुक्खा नै पाउनुहुनेछ। एकदमै कम हिउँ परेको छ। यो वर्ष अघिल्लो वर्षहरूका तुलनामा कम हिउँ छ।”

उहाँ थप्नुहुन्छ, “यदि फेब्रुअरी र मार्च जुनबेला तापक्रम बढ्न थाल्छ, त्यो बेला उल्लेख्य हिमपात भयो भने पनि अहिले देखिएको हिउँको कमीलाई सम्भवतः पूरा गर्न ढिला भइसक्नेछ वा सकिनेछैन।”

तर त्यसको परिमाणात्मक विश्लेषण हालसम्म नगरिएको उहाँले बताउनुभयो। नेपाली अधिकारीहरूले पनि हिमरेखामा देखिएको परिवर्तनबारे आफूहरूले विश्लेषण नगरिसकेको जनाएका छन्।

आफूले हालै लाङटाङको झन्डै ५ हजार ७ सय मिटरमा अवस्थित याला क्षेत्र भ्रमण गरेको उल्लेख गर्दै कायस्थले थप्नुभयो, “मैले पनि प्रत्यक्ष महसुस गरेको के हो भने पहिला जहाँ पूरै हिउँ हुन्थ्यो, यसपालि पूरा ढुङ्गा देखिएको छ।”

याला क्षेत्र
५ हजार १ सय मिटरमा अवस्थित याला हिमताल आसपास केही समयपहिले लिइएको तस्बिर

लामो समयदेखिको आँकडा हेर्दा हिमालय क्षेत्रमा हिउँको परिमाण कम हुँदै गएको देखिए पनि वर्षेनी हिउँको मात्रा बढ्ने र घट्ने क्रम जारी रहेको पाइएको वैज्ञानिकहरू बताउँछन्।

एकीकृत पर्वतीय विकास केन्द्रका डाक्टर सेर मोहम्मद थप्नुहुन्छ, “कुनै वर्ष तपाईँले भारी हिमपात देख्न सक्नुहुन्छ, कुनै साल हिउँको मात्रा नै कम पनि हुनसक्छ। अघिल्लो वर्षकै नोभेम्बरदेखि एप्रिलसम्मको तथ्याङ्क हेर्ने हो भने हिमालय क्षेत्रमा सोही अवधिमा २० वर्ष यताकै उच्च परिमाणमा हिउँ थियो।”

उच्च हिमाली भेगमा हुने हिमपात र तापक्रममा भएको वृद्धिका कारण हिउँ पग्लिने जस्ता अवस्थाले हिमालहरूमा हिउँको परिमाणलाई प्रभाव पार्ने वैज्ञानिकहरू ठान्छन्।

अझै पानी परेन भने के हुनसक्छ ?

जाडो महिना सकिन अब केही साता मात्रै बाँकी छ। हिमालमा कम हिउँ हुँदा त्यसले तल्लो भेगमा बसिरहेका मानिसहरूको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने वैज्ञानिकहरू बताउँछन्।

एकीकृत पर्वतीय विकास केन्द्रका डाक्टर सेर मोहम्मदका अनुसार हिउँ कम हुँदा त्यसले पानीको उपलब्धतामा उल्लेख्य प्रभाव पार्नसक्छ।

“त्यसले तल्लो तटका बस्तीहरूमा प्रभाव पार्छ। कृषिमा पनि असर पर्छ। त्यसमा पनि अझ पानी पनि कम पर्‍यो भने आगामी दिनमा अझ सुक्खा हुनेछ।”

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हिम सर्भे तथा हिमताल शाखाका सिनिअर डिभिजनल हाइड्रोलोजिस्ट दिनकर कायस्थ अहिले हिउँको मात्रा कम भएकाले त्यसले गर्दा चैत बैशाखमा नदीहरूमा पानीको जल स्तरसमेत प्रभावित हुनसक्ने बताउनुहुन्छ।

उहाँले भन्नुभयो, “अब नयाँ सिजनमा हिउँमा आधारित नदीहरूमा पानीको मात्रा कम हुन्छ। तर त्यसको अप्रत्यक्ष प्रभाव अन्य कैयौँ क्षेत्रमा हुन्छ।”

सुरुमा यो वर्ष जाडो याममा सामान्य भन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको थियो।

पाकिस्तानको हुन्जा उपत्यकाको भूउपग्रहबाट लिइएको तस्बिर
पाकिस्तानको हुन्जा उपत्यकाको भूउपग्रहबाट लिइएको तस्बिर

जल तथा मौसम विभागका मौसमविद् सुदर्शन हुमागाईँ मासिक रूपमा मौसम प्रक्षेपण गर्ने क्षमता विभागको नभएको बताउनुभयो।

उहाँले भन्नुभयो, “हिउँद भनेको एकदमै थोरै पानी पर्ने समय हो। वर्षभरिको वर्षाको ३ देखि ४ प्रतिशत पानी मात्रै यो समयमा पर्छ। हामीसँग अझै पनि एक महिना १० दिन जति बाँकी छ, दुई चार वटा पानी पर्ने घटना भए भने पनि सरदरको नजिक पुग्छ।”

तर उहाँले विश्वव्यापी प्रक्षेपणलाई हेरेर तीन महिनाको प्रक्षेपण सार्वजनिक गरेको उल्लेख गर्दै त्यो मिलेको या नमिलेको भन्नसक्ने अवस्थामा आफूहरू नरहेको उल्लेख गर्नुभयो।

जलवायु परिवर्तनका कारण सगरमाथाको उच्च भागमा रहेको हिमनदी तीव्र गतिमा पग्लिरहेको विगतमा अध्ययनहरूले देखाएका थिए।

युनिभर्सिटी अफ मेनको नेतृत्वमा रहेका वैज्ञानिकहरूले विश्वको सर्वोच्च हिमालमा अवस्थित ुसाउथ कोल ग्लेसिअरु विगत २५ वर्षमा ५४ मिटर (१८० फीट) घटिसकेको पत्ता लगाएका छन्।

समुद्रको सतहभन्दा झन्डै ७,९०६ मिटर उचाइमा रहेको उक्त हिमनदीमा पहिलो पटक बरफ जम्न लागेको समयभन्दा बरफ पग्लिने गति ८० गुणा चाँडो छ।

बढ्दो तापमान तथा तीव्र गतिमा चल्ने हावाका कारण तीव्र गतिमा बरफ पग्लिँदै र पातलिँदै गएको मानिएको छ।

Share Now