विराटनगर, ११ माघ । राष्ट्रिय सभाका १९ सीटका लागि आज भएको निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी हुनुभएको छ। सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेद्वार बन्नुभएका सिटौलाले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेद्वारी दिनुभएका राप्रपाका उद्धव पौडेललाई पराजित गर्नुभएको हो ।
प्रदेशसभाको मतगणनामा राप्रपाका पौडेलसँग पछि देखिनुभएका सिटौलालाई स्थानीय तहतर्फको मतले विजयी बनाएको थियो ।
कांग्रेस नेता सिटौलाको पक्षमा स्थानीय तहतर्फको १ सय ५३ मतभार र पौडेलको पक्षमा १ सय ९ मतभार परेको थियो।
प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ जनाको मत पाउनुभएको थियो भने। राप्रपाका पौडेलले ४७ मत ।
सत्तारुढ गठबन्धनको प्रदेशसभामा ४७ मत भए पनि २ जनाले सिटौलालाई मत दिएनन्। एक मत बदर भयो। स्थानीय तहतर्फ ४ मत बदर भएको छ।
स्थानीय तहतर्फ एमालेका केही मत सिटौलालाई गएको बताइएको छ।


















