बीरगञ्ज(पर्सा), १३ माघ । नेपालको आर्थिक नगरीको उपमा प्राप्त बीरगञ्जमा पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन भएको छ ।
शनिवार सम्पन्न नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै पूर्वराजाबाट २०६५ सालमा राजदरबार र राजगद्द्ी परित्याग गर्दा आफूले भनेका कुराहरु झन सान्दर्भिक भएको जिकिर गरिएको छ ।
उहाँले आफ्नो संबोधनमा आफू र आफ्नो परिवार त्यसपछि पनि देश र जनताको सेवाका लागि स्वदेशमा नै रहेको उल्लेख गर्दै देशको राजनीति, अर्थव्यवस्था र सामाजिक व्यवस्था बिग्रदै गएकोमा चिन्ता प्रकट गर्नुभएको छ ।
उहाँले विसं २०५८ जेठ १९ गते (शुक्रबार) राति भएको राजदरबार हत्याकाण्डको विषयलाई लिएर आफ्नो परिवारप्रति गरिएको सन्देहले आफूहरुलाई अन्याय भएको पनि बताउनुभएको छ।
पूर्वराजा शाहले त्यस घटनाबारे राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाएर नकारात्मक भावना फैलाएको बताउनुभएको छ।
शाहले शनिबार वीरगन्जमा गरेको सम्बोधनको पूर्णपाठः
उपस्थित महिला तथा सज्जनवृन्द,
तपाईंहरूकाबीच आफ्ना मनका कुरा भन्न पाउँदा मलाई आज खुसी लागेको छ। हाम्रा तराई फाँटका जनभावना बुझ्ने र यहाँहरूसँग साक्षात्कार हुने यस्तो मौका मिलेकोमा म आयोजक, प्रबन्धक तथा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
हाम्रो अन्नको भण्डार भनिने तराई मधेशको यो समथर उब्जर फाँटको अर्को ठूलो मुल्य र महत्व छ। गौरवशाली इतिहास बोकेको इलम, उत्पादन, व्यवसाय र आर्थिक उत्थानको आधार तराई मधेशको उस्तै, प्रतिष्ठा।
हामी देखिरहेका छौँ, दुई तीन दशकदेखि यो उर्वर भूभाग उजाड बन्दै गइरहेको छ। यहाँको पोखरी, कुवा, धारा जलसतह कमजोर हुँदै सुख्खा, खँडेरी र मरुभूमिकरणतिर गएको छ। यो गम्भीर चिन्ताको कुरा हो।
मधेशका होनाहार युवा जनशक्ति दिनहुँ विदेशतिर दगुरिइरहेको छ। रोजगारी, सीप र अवसर दिन नसक्दा गरिबीको बाध्यताको कारण हाम्रो जमीन, स्रोत साधन सबै सुक्दै पातलिँदै गएको छ। यो दुखको कुरा हो। देश बनाउनु, बचाउनु निरन्तर आवाज छ। हामीमाथि आह्वान पनि छ।
म भन्छु, हामी हाम्रो पुर्खाको पौरख नभुलौँ। यहीँ बसौँ। आफ्नो जन्मभूमिका लागि मरिमेटौँ। हाम्रो विकास, उत्थान र समस्याको निवारण आफैँबाट हुने हो। अरुले आएर गरिदिने होइन्।
तर, दुखका साथ भन्नुपर्छ, हाम्रो देश सबैतिर उजाड बन्दै खोक्रो भएर चरम दुर्भाग्यतिर खस्किएको छ। यो अवस्थाको अन्त्य गर्नै परेको छ। यसका निम्ति अब सोच्ने बेला आयो। देशलाई झन झन बर्बादीतिर नलैजाऔँ। त्यसका लागि सबैले सोचौँ। समीक्षा गरौँ।
नेपालको राम्रो प्रकृति, स्रोत साधन, क्षमता सबै आर्थिक उन्नतिमा लगाऔँ। आफ्नो घर उजाड पारेर अरुको उन्नतीमा आफ्नो श्रम, पसिना लगाउने बेला गयो। आफ्नो क्षमता, आफ्नो घर, गाउँ बस्ती बनाउनेतिर लाग्नैपर्छ।
यसैमा हाम्रो देशको उन्नती, प्रगति, इज्जत र प्रतिष्ठा निर्भर हुन्छ। हामी भूगोल र भूबनोटमा बाँडिने होइन। जातजाती, धर्म र संस्कृतिमा खण्डित हुने होइन। हामी सबैको देश नेपालमा बस्ने हामी सबै नेपाली। त्यसैले, विभेदको,, बिखण्डनको र बिग्रहको, निषेधको राजनीति हामी नगरौँ। हामी सबैको भलाई यसैमा छ।
आफ्ना आत्मिय, अग्रजलाई गुमाएको पीडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुगनपुग ७ वर्ष राष्ट्र प्रमुखको हैसियतमा मैले आफ्नो दायीत्व निर्वाह गरेँ। तत्काल अप्ठ्यारो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस्, प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ।
२०५८ मा घटेको बिनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालिलाग्दो र सम्झन पनि मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएको थियो।
हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए। सत्य सधैँ सत्य हुन्छ। असत्यको विजय कहिल्यै हुँदैन। हाम्रोमाझ प्रत्यक्षदर्शीहरू हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकीरहेको छौँ। यो अन्यायपूर्ण मात्रै होइन दुर्भाग्यपूर्ण पनि हो। आफ्नो पूख्र्यौली राजदरबार परित्याग गर्दा २०६५ जेठ २९ गते आमसञ्चार माध्यमबाट मैले भनेको थिएँ– म नेपालमा बसी मुलुकको वृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु। अनि त्यतिबेलै मैले भनेको थिएँ– स्वाभिमानी नेपालीको आत्मकामना होस् भन्ने मेरो कामना छ।
हाम्रो राष्ट्रप्रेम र राष्ट्रहितको सदासयता कायम रहँदा देशमा विषम परिस्थिति बढ्दै जान्छ। र त्यस्तो बेथितिबाट आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यतिखेरको आंकलन हो। बितेका १५ वर्षपछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल छ। आफ्नो गरिमापूर्ण राजपाठबाट वियुक्त हुनुपर्दा मैले व्यक्त गरेको राष्ट्रप्रेम, राष्ट्रियता, प्रजातान्त्रिक प्रतिवद्धता तथा देश र जनताको उत्थानमा क्रियाशिल हुने भावनालाई मैले आज पनि सान्दर्भिक रुपमा सम्झिरहेको छु।
त्यसै अनुरुप मैले चिरकाल पर्यन्त सुरक्षित रहोस् भनेर मैले आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिएँ। हामी देशमै छौँ, आज पनि देशमै रहेर देशको गौरव गाथा गाइरहेका छौँ। अहिले पनि देशको उन्नति होस्, भेदभावरहित ढंगले सबै देशवासीको विकास हुँदै जाओस् भन्ने भावना छ।
आफ्नो अस्तित्व, पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लडखडिएर, देशमा सनातनदेखि रहिआएको समधुर सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन। यो कुरामा अहिले पनि हाम्रो अडान कायम छ।
हाम्रो राजनीति, अर्थव्यवस्था र सामाजिक दुरअवस्थाको राम्रो मुल्यांकन गरेर सबैको उपकार, विकास र निकासको बाटोमा हामी लाग्नुपर्छ। यसैमा हाम्रो कल्याण हुन्छ। सबैमा फेरि हाम्रो धन्यवाद, जय नेपाल।


















