काठमाडौँ, १४ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखापरेका चुनौतीको व्यवस्थापनका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिनुभएको छ ।
प्रतिष्ठानको १२औँ सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले थप पूर्वाधारको विकास तथा अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिनुभयो ।
आम नागरिक स्वस्थ नभइकन विकास र समृद्धि सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सबै नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच पुर्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “स्वस्थ र निरोगी नागरिकबाट नै मुलुकको आर्थिक र सामाजिक रूपान्तरण सम्भव हुन्छ ।”
समुदायमा आधारित सेवा प्रवाह गर्नु प्रतिष्ठानको उत्तम पहल भएको उल्लेख गर्दै कुलपति दाहालले यस्ता कार्यक्रममा अन्य मिल्दोजुल्दो कार्यक्रम पनि समेटेर अझ बढी सशक्त बनाएर अगाडि बढ्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, “अन्य प्रतिष्ठान एवं शैक्षिक संस्थाबाट पनि यसप्रकारको कार्यक्रम अगाडि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गराउँछु ।” नेपाल अधिकांश भू–भाग ग्रामीण क्षेत्रले ओगटेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारको व्यवस्था मिलाउन दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट अभिप्रेरित डाक्टरलगायत स्वास्थ्यकर्मी उत्पादन गरी स्वास्थ्य सेवाको पहुँच ग्रामीण स्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “मानव विकास परिसूचकाङ्कमा पछि परेका तथा गुणस्तरीय स्वास्थ्य सेवामा कम पहुँच भएका नागरिकलाई बढी लाभान्वित तुल्याउने गरी आफ्नो सेवामा सुधार ल्याउन प्रतिष्ठानलाई निर्देशित गर्दछु ।”
स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाइने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताउनुभएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औँ सभामा प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य बीमा कार्यक्रमलाई सफल तुल्याउन स्थानीय तहहरूबाट सकारात्मक प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन ललितपुर महानगरपालिकासँग विशेषज्ञसहितको स्वास्थ्य सेवाप्रवाह गर्न भएको सम्झौता देशकै लागि नमुना कार्यक्रम बन्ने मैले विश्वास लिएको छु ।”
प्रतिष्ठानले आम जनसमुदायलाई पु¥याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाई अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्दै लैजाने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गर्नुभयो ।
अस्पतालले समयानुकूल विभिन्न सेवा र प्रविधिहरू थप गरी आफ्ना सेवालाई नागरिकको आवश्यकताअनुसार विस्तार गर्दै लगेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट सङ्क्रमितहरूको परीक्षण र उपचारमा उल्लेख्य योगदान पु¥याएको स्मरण गर्नुभयो ।
प्रधानमन्त्रीले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन, अनुसन्धानलाई प्रवद्र्धन गरी मुलुकको लागि आवश्यक दक्ष र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन पनि त्यत्तिकै आवश्यक रहेको उल्लेख गर्दै त्यसतर्फ लाग्न प्रतिष्ठानलाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा यससँग सम्बन्धित वैज्ञानिक अनुसन्धान गरी समस्त स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान सह्रानीय रहेको बताउनुभयो । सभामा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य, ललितपुर महानगरपालिकाका प्रमुख, विभिन्न प्रतिष्ठानका उपकुलपतिको उपस्थिति थियो ।